लोड हुँदैछ...

मेनु

अभिषेक गिरीविरुद्ध थप दुई मुद्दा, म्याद थप गर्न अदालत लगियो

अभिषेक गिरीविरुद्ध थप दुई मुद्दा, म्याद थप गर्न अदालत लगियो

विराटनगर । मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीविरुद्ध प्रहरीले थप दुईवटा मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले गिरीलाई ‘संगठित अपराध र सम्पत्ति शुद्धीकरण’ मुद्दामा म्याद थप गर्न सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो ।

यसअघि ‘अपराधिक लाभ’ मुद्दामा पक्राउ परेका गिरीको म्याद सोमबार सकिँदै थियो । गिरीको अपराधको जालो ठूलो रहेको र अवैध माध्यमबाट धन आर्जन गरेको देखिएकाले थप दुई गम्भीर मुद्दामा अनुसन्धान गर्नुपर्ने प्रहरीको दाबी छ ।

मोरङका प्रहरी प्रमुख उपरीक्षक (एसपी) कविता कटुवालका अनुसार गिरीको गतिविधि संगठित स्वरूपको देखिएको र उनले अस्वाभाविक सम्पत्ति आर्जन गरेको पाइएकाले यी मुद्दामा म्याद थपको प्रक्रिया अघि बढाइएको हो । ‘गिरीको अपराधको सञ्जाल ठूलो देखिएको छ,’ एसपी कटुवालले भने, ‘संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले अदालतसँग अनुमति माग गरेका छौँ ।’ अहिले मोरङ अदालतमा उनलाई म्याद थपको लागि प्रहरीले उपस्थित गराएको छ । मोरङ अदालतका स्रेस्तेदार मणीराम पोखरेले मोरङ प्रहरीले दुई मद्दुामा म्याद थप गर्न ल्याएकोले अहिले इजालश पेश गरिएको बताए ।

यसअघि, असार १७ गते उच्च अदालत विराटनगरले गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत मोरङलाई विपक्षी बनाई दायर गरिएको रिटमा न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले प्रहरीको पक्षमा फैसला सुनाएको थियो । यद्यपि, अदालतले बिहीबारदेखि लागू हुने गरी पाँच दिनभित्र अनुसन्धान सकेर अभियोग पत्र दर्ता गर्न वा अनुसन्धान नसकिए थुनामुक्त गरेर बाहिरै राखी प्रक्रिया अघि बढाउन निर्देशनात्मक आदेश दिएको थियो ।

अदालतले तोकेको पाँच दिने समयसीमाभित्रै प्रहरीले नयाँ मुद्दाको प्रक्रिया सुरु गरेको हो ।
गिरीलाई गत असार १३ गते बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । गिरीसँगै उनका सहयोगीहरू सञ्जय मण्डल र विजय कामतसहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । कारागारभित्र रहेका कैदीबन्दीको रासन भत्ता र पारिश्रमिकमा आर्थिक शोषण गरेको उजुरी परेपछि उनीमाथि प्रहरीले निगरानी बढाएको थियो ।

गुन्डागर्दी र असुलीमा नाम जोडिएका गिरीलाई यसअघि पटक–पटक कारागार सरुवा गरिए पनि उनको प्रभावका कारण उनी पुनः मोरङ कारागार नै फर्कने गरेका थिए । पछिल्लो समय भने उनी कारागार बाहिरै रहँदा पनि कारागारको आन्तरिक व्यवस्थापनमा हस्तक्षेप गर्दै असुलीमा सक्रिय रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।