लोड हुँदैछ...

मेनु

पाँचथरमा कोशी प्रदेशकै पहिलो ‘आर्क’ आरसीसी पुल सञ्चालनमा

पाँचथरमा कोशी प्रदेशकै पहिलो ‘आर्क’ आरसीसी पुल सञ्चालनमा

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१ र ७ को सिमानामा पर्ने नाम्दुखोलामा कोशी प्रदेशकै पहिलो ‘आर्क’ (कमानी आकारको) आरसीसी पुल निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाले सहज आवतजावतको सुविधा पाएका छन्।

शिवालय–रानीटार–लुङरुपा–गोरुवाले सडकखण्डअन्तर्गत निर्माण गरिएको ३०.३४ मिटर लामो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरले निर्माण गरेको हो। पुल निर्माणमा ३ करोड ७७ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। आयोजनामा स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी) तथा स्विस सरकार विकास सहयोग (एसडीसी) को प्राविधिक सहयोग रहेको छ।

२०८० सालमा सुरु गरिएको पुल २०८२ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि २०८१ असोज १२ गते आएको बाढीले निर्माणाधीन संरचना क्षति पुर्‍याएपछि निर्माण कार्य करिब एक वर्ष ढिलो गरी सम्पन्न भएको हो।

प्राविधिकहरूका अनुसार कमानी आकारको ‘आर्च्ड’ आरसीसी पुलले बाढीको बहाव सहज रूपमा थेग्न सक्ने, भार दुवैतर्फ समान रूपमा वितरण गर्ने र दीर्घकालसम्म टिकाउ हुने विशेषता बोकेको छ।

यसअघि नाम्दुखोलामा रहेको कजवे बाढीले बगाएपछि सडक कालोपत्रे भए पनि सवारी सञ्चालन हुन सकेको थिएन। नयाँ पुल सञ्चालनमा आएपछि फिदिम नगरपालिका–७, ८, १३ र १४ का बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्।

रानीटार–फिदिम रुटका सवारी चालक बलराम गुरुङका अनुसार पुल सञ्चालनमा आएपछि यात्रा समय उल्लेखनीय रूपमा घटेको छ। पहिले घुमाउरो बाटो प्रयोग गर्दा फिदिम पुग्न करिब अढाइ घण्टा लाग्ने गरेकामा अहिले ४५ मिनेटमै पुग्न सकिने भएको उनले बताए।

पुल सञ्चालनसँगै नाम्दुखोला क्षेत्र आन्तरिक पर्यटकका लागि पनि नयाँ आकर्षण बन्दै गएको छ। ठाडा भिर, साना झरना र आकर्षक पुलका कारण तस्बिर तथा भिडियो खिच्न पुग्नेको संख्या बढ्न थालेको स्थानीयले बताएका छन्।

यो सडक सन्दकपुरसम्म पुग्ने मुख्य मार्ग भएकाले बाँकी सडक पनि कालोपत्रे सम्पन्न भएपछि छिन्तापु, गोरुवाले र सन्दकपुरलगायतका प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्न थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।