विराटनगर । गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा सीमा र मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा प्रहरीमाथि तस्करीमा संलग्न रहेको तथा अवैध रकम असुली गरेको गुनासो आएपछि केरकार गरेका छधन् ।
अनुगमनका क्रममा एक स्थानीय महिलाले गृहमन्त्रीलाई प्रत्यक्ष भेटेर प्रहरीका घुमुवाहरूले मासिक रूपमा रकम असुल्ने र पैसा लिएर सामान ओसारपसार गर्न दिने गरेको आरोप लगाउँदै केही प्रहरीको नामसमेत किटेकी थिइन् ।
महिलाको गुनासोपछि गृहमन्त्री गुरुङले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईंलाई बोलाएर सोधपुछ गरेका थिए। मन्त्रीले डीएसपीलाई मोबाइल टेबुलमा राख्न लगाई अवैध असुलीमा संलग्न भनिएका प्रहरी तथा अन्य व्यक्तिलाई तत्काल उपस्थित गराउन निर्देशन दिएका थिए।
डीएसपी चापागाईंले भने गृहमन्त्रीले आफ्नो मोबाइल नियन्त्रणमा लिएको दाबी अस्वीकार गरेका छन्। उनले आफू जिल्ला प्रहरी कार्यालय झापा जाँदै गरेको जानकारी दिएका छन्।
झापाकी प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले गृहमन्त्रीको निर्देशन कार्यक्रम रहेकाले आफ्नै निर्देशनमा डीएसपी चापागाईंलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएकीको जानकारी दिएकी छन् । मेची भन्सार कार्यालयमा गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र भन्सार प्रमुख शिवलाल न्यौपानेलगायत अन्य प्रशासनिक अधिकारीलाई बाहिर राखेर प्रहरी अधिकारीसँग छुट्टै छलफल गरेका थिए।
भन्सार कार्यालयका एक अधिकृतका अनुसार प्रहरीविरुद्ध गुनासो आएपछि गृहमन्त्रीले तत्काल सोधपुछ र आवश्यक निर्देशन दिएका हुन्। ‘पछि बुझ्दा प्रहरीका विरुद्ध केही गुनासो आएपछि मन्त्रीज्यूले तुरुन्तै एक्सन लिनुभएको बुझियो,’ ती अधिकृतले भने ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।