विराटनगर। कोशी प्रदेशका पहाडी भेगमा आज हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने तराईका जिल्लाहरूमा मौसम खुलेर घाम लागिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण पहाडी क्षेत्रमा बदली र वर्षाको क्रम जारी रहे पनि कोशीको तराईमा भने आंशिक बदली मात्र रहेको छ।
कोशी प्रदेश बाहेक बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेश र कोशीको तराईमा मौसम तुलनात्मक रूपमा सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।
आज राति देशभर साधारणतया बदली रहनेछ। रातिको समयमा बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भने मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपातको संकेत छ।
वर्षा हुने क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहेकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र पछिल्लो सूचनामा अद्यावधिक रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।