विराटनगर। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर विशेष पूजा आराधना गरी मनाइँदै छ। यसै दिनदेखि सनातन धर्मावलम्बीहरूको चार महिने विशेष व्रत ‘चतुर्मास’ पनि सुरु भएको छ।
आजको दिन घर-घरको तुलसी मोठमा एक महिनाअघि राखिएको दलको बिरुवा विधिपूर्वक सारिन्छ। वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीक मानिने भएकाले आजदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म चार महिना तुलसीको विशेष पूजा गर्ने गरिन्छ।
धार्मिक मान्यता अनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने (सुत्नुहुने) भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो। कतिपय शास्त्रीय मतअनुसार भगवान् विष्णु आजैदेखि चार महिनासम्म पाताल लोकमा राजा बलिको ढोकामा निवास गर्नुहुने विश्वास समेत छ।
विराटनगरका विभिन्न नारायण मन्दिर तथा घर-घरमा आज बिहानैदेखि भक्तजनहरूले व्रत बसी पूजापाठ गरिरहेका छन्। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई फलाहार गर्ने चलन छ।
वैज्ञानिक रूपमा पनि बढी अक्सिजन दिने र औषधीय गुणले युक्त मानिने तुलसीको बिरुवा रोप्नाले घर वरपरको वातावरण शुद्ध हुने र विषालु कीटाणुहरू नाश हुने विश्वास गरिन्छ। आज सुरु भएको चतुर्मास व्रत कार्तिक शुक्ल एकादशीका दिन तुलसी र दामोदरको विवाह गरेपछि समापन हुनेछ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।