काठमाडौँ । फुटबलका जादुगर लियोनेल मेसी र स्पेनका उदीयमान युवा स्टार लामिन यमालबीचको ऐतिहासिक भिडन्तले विश्वभरका समर्थकमाझ मात्र होइन, आर्थिक बजारमा समेत हलचल पैदा गरेको छ। न्युयोर्क न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा हुने विश्वकपको फाइनल खेलको टिकट मूल्यले विश्व खेलकुदको इतिहासमै नयाँ र अकल्पनीय कीर्तिमान कायम गरेको छ।
फिफाको आधिकारिक पुनः बिक्री प्लेटफर्ममा फाइनल खेलको टिकटको मूल्य २३ लाख अमेरिकी डलर(करिब ३० करोड नेपाली रुपैयाँ) सम्म पुगेको छ। खेल सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा पुनः बिक्री बजारमा टिकटको न्यूनतम मूल्य नै १० हजार डलर(करिब १३ लाख रुपैयाँ) बाट सुरु भइरहेको छ। शुक्रबारसम्म आधिकारिक पोर्टलमा ३२ हजार डलरसम्ममा उपलब्ध टिकटहरू क्षणभरमै सकिएपछि बजारमा मूल्यले आकाश छोएको हो।
यो फाइनल केवल अर्जेन्टिना र स्पेनको प्रतिस्पर्धा मात्र होइन, यो पुस्तान्तरणको लडाइँ पनि बनेको छ। एकातर्फ विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसी छन् भने अर्कोतर्फ उनको उत्तराधिकारीका रूपमा हेरिएका स्पेनका युवा सनसनी लामिन यमाल छन्। यी दुई खेलाडीको आमनेसामने हुने सम्भावनाले टिकटको मागलाई अस्वाभाविक रूपमा बढाएको विज्ञहरू बताउँछन्।
सुरुवाती चरणमा केही रङ्गशालामा दर्शक उपस्थिति कम हुँदा र टिकट मूल्य महँगो भएको भन्दै फिफाको आलोचना भएको थियो। तर, फाइनलसम्म आइपुग्दा यो संस्करण विश्वकै सर्वाधिक कमाइ गर्ने विश्वकप बनेको छ। फिफाका अनुसार जारी विश्वकपका ७२ मध्ये आधा खेल पूर्ण क्षमताका रङ्गशालामा भएका छन् भने समग्रमा ९९.७ प्रतिशत सिट भरिएका छन्। भिसा प्रतिबन्ध र सुरक्षाका कारण दर्शक घट्ने अनुमान गरिए पनि फुटबलको विश्वव्यापी क्रेजका कारण समर्थकहरू जतिसुकै महँगो मूल्य तिर्न पनि तयार देखिएका छन्।
फाइनल यात्रा तय गर्ने क्रममा पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पाखा लगाएको थियो भने अर्जेन्टिनाले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको थियो। सोमबार बिहान हुने यो फाइनल खेललाई खेलकुद इतिहासकै सबैभन्दा भव्य र महँगो इभेन्टको रूपमा चित्रित गरिएको छ। समर्थकहरूका लागि यो केवल ९० मिनेटको खेल नभएर जीवनभर सम्झना रहने ऐतिहासिक क्षण बनेको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।