विराटनगर । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा एक बालकको मृत्यु भएको छ। नेपाल प्रहरी स्रोतका अनुसार शनिबार बिहान करिब ४ बजे सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खस्दा ३ वर्षीय बालक रमेश बडुवालको ज्यान गएको हो।
छायाँनाथ रारा नगरपालिका–१३ तिर्प घर भई पुलु बजारमा पेमा लामाको घर भाडामा लिई होटल सञ्चालन गर्दै आएका जगनाथ बडुवालको परिवार पहिरोको चपेटामा परेको थियो। पहिरोमा च्यापिएका बालकलाई प्रहरी टोलीले उद्धार गरी स्थानीय पुलु स्वास्थ्य चौकी पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा बालकका ३२ वर्षीय बुबा जगनाथ र २७ वर्षीया आमा सृजना बडुवाल सामान्य घाइते भएका छन्। उनीहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । थप पहिरो खस्न सक्ने जोखिमका कारण आसपासका आठ घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।