विराटनगर । बिरामी आमाको उपचारका लागि कुरुवा बसेका एक व्यक्तिको अस्पतालमै आफ्नै प्रहारबाट मृत्यु भएको छ। मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो।
आफ्नी ६९ वर्षीया आमा राम्रिका राईलाई उपचारका लागि गोल्डेन अस्पताल ल्याएका राजेन्द्रले गत साउन २ गते बिहान अस्पतालको पछाडिपट्टि झ्यालमा प्रयोग हुने सिसाले आफ्नै पेटमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचार भइरहेको थियो।
उपचारकै क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। आमालाई निको बनाएर घर फर्काउने सपना बोकेर अस्पताल आएका राजेन्द्रको आफ्नै प्रहारबाट ज्यान गएपछि परिवार शोकमा डुबेको छ।
प्रहरीले शवको पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।