लोड हुँदैछ...

मेनु

अभिषेक गिरीसँग कनेक्सन देखिएपछि सुधार केन्द्र सञ्चालक पक्राउ

अभिषेक गिरीसँग कनेक्सन देखिएपछि सुधार केन्द्र सञ्चालक पक्राउ

विराटनगर । प्रहरी नियन्त्रणमा रहेका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि विराटनगरका सुधार केन्द्र सञ्चालक मुकेश कार्की पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान करिब ७ः३० बजे घरबाटै पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरीसँग कार्कीको लामो समयदेखिको सम्पर्क र सम्बन्ध देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

‘गिरीसँगको सम्बन्ध, आर्थिक कारोबार, सम्पर्क सञ्जाल र हाल उनी संलग्न रहेका गतिविधिबारे अनुसन्धान भइरहेको छ,’ डीएसपी मिश्रले भने। प्रहरी स्रोतका अनुसार कार्की गिरीका निकट सहयोगीमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गिरीको आर्थिक हिसाब–किताब राख्ने, आर्थिक गतिविधि व्यवस्थापन गर्ने तथा आवश्यक समन्वय मिलाउने काममा कार्कीको भूमिका रहेको हुन सक्ने प्रहरीको आशंका छ। गिरीको समूहसँग जोडिएर असुली, मिटरब्याज तथा अन्य आपराधिक गतिविधिमा कार्कीको संलग्नता रहे–नरहेको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले उनीसँग गिरीको आर्थिक सञ्जाल, सम्पर्कमा रहेका व्यक्तिहरू, सम्पत्तिको स्रोत र आपराधिक गतिविधिसँग जोडिएका विषयमा सोधपुछ गरिरहेको छ।

डीएसपी मिश्रका अनुसार कार्की लामो समयदेखि प्रहरीको निगरानीमा थिए। उनलाई पक्राउ गर्न यसअघि पनि प्रहरी टोली घरमा पुगेको थियो। तर, त्यसबेला उनी फेला नपरेपछि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।

प्रहरीले अभिषेक गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथि समेत अनुसन्धान विस्तार गर्ने तयारी गरेको जनाएको छ। गिरीको आपराधिक गतिविधिमा सहयोग गर्ने, आर्थिक कारोबार मिलाउने वा उनको समूहलाई संरक्षण गर्ने व्यक्तिहरूको विवरण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार गिरीसँग जोडिएका केही व्यक्तिहरू असुली, मिटरब्याज, धम्की तथा ठेक्कापट्टामा प्रभाव जमाउने गतिविधिमा संलग्न रहेको आशंका छ। उनीहरूको गतिविधिमाथि निगरानी राख्दै आवश्यक प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ।

गिरीसँग विभिन्न राजनीतिक दलका केही नेता तथा कार्यकर्ताको समेत सम्पर्क देखिएको प्रहरी स्रोतको दाबी छ। ती व्यक्तिहरूको सम्बन्ध र भूमिकाबारे समेत आवश्यकताअनुसार अनुसन्धान हुन सक्ने प्रहरीले जनाएको छ।

मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरी आर्थिक शोषण गरेको आरोपमा अभिषेक गिरीलाई असार १३ गते विराटनगर–८ स्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। प्रहरी अनुसन्धानका क्रममा असार १२ गते कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ निकट व्यक्तिमार्फत पुनः संकलन गरी गिरीले लिएको खुलेको दाबी गरिएको थियो। त्यसपछि उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।

पक्राउविरुद्ध गिरीले उच्च अदालत विराटनगरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उच्च अदालतले रिट खारेज गर्दै पाँच दिनभित्र अनुसन्धान टुंग्याउन वा अनुसन्धान नसकिए हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन असार १७ गते आदेश दिएको थियो।

त्यसपछि मोरङ प्रहरीले गिरीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा म्याद थपका लागि जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो। जिल्ला अदालतले म्याद थप गर्न अस्वीकार गर्दै उच्च अदालतको आदेशअनुसार हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

तर, अदालतबाट छुटेलगत्तै गिरी पुनः पक्राउ परे। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसअघि नै ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको थियो।

मोरङ प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएर काठमाडौं पठाएको थियो। हाल गिरी सीआईबीको नियन्त्रणमा छन् र उनीमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

गिरी यसअघि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा दोषी ठहर भई नौ वर्ष जेल सजाय काटेका व्यक्ति हुन्। उनी २०७९ चैत ५ गते जेलमुक्त भएका थिए।

प्रहरीका अनुसार कारागारमा चौकीदार रहेका बेला उनले कैदीबन्दीमाथि यातना दिएर पैसा असुल्ने, रासन तथा लत्ताकपडाको भत्ता हडप्ने र बाहिर आफ्नो समूह परिचालन गरी मिटरब्याजको कारोबार चलाउने गरेको आरोप लाग्दै आएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट जेलमुक्त भएपछि पनि गिरीले कारागारभित्रको आर्थिक गतिविधि, मेस आपूर्ति तथा कैदीबन्दीको श्रम आम्दानीमा प्रभाव कायम राखेको देखिएको जनाएको छ।

गिरीको घरमा गरिएको खानतलासीका क्रममा प्रहरीले पैसा गन्ने मेसिनसमेत बरामद गरेको थियो। प्रहरीले गिरीसँग सम्बन्धित आर्थिक सञ्जाल, सहयोगी तथा सम्पर्कमा रहेका अन्य व्यक्तिमाथिको अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds