लोड हुँदैछ...

मेनु

मोरङको डाइनियामा चार वर्षीया बालिकाको हत्या, घरदेखि २ सय मिटर टाढा घाँसीबारीमा शव फेला

मोरङको डाइनियामा चार वर्षीया बालिकाको हत्या, घरदेखि २ सय मिटर टाढा घाँसीबारीमा शव फेला

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलमा चार वर्षीया बालिकाको हत्या भएको अवस्थामा शव फेला परेको छ।

स्थानीय जफारुल मियाँकी चार वर्षीया छोरी कायानत प्रवीण खातुन शुक्रबार दिउँसो आमाले खाजा खुवाएपछि घरआँगनमा खेल्न गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि परिवारले उनको खोजी सुरु गरेको थियो।

आफन्त र स्थानीयवासीले घर आसपासका खाल्डाखुल्डी, बारी तथा बाटोघाटोमा खोजी गर्ने क्रममा साँझ करिब साढे ७ बजे घरदेखि करिब २ सय मिटर उत्तरतर्फ रहेको घाँसीबारीमा कायानतलाई मृत अवस्थामा फेला पारेका हुन्।

बालिकाको निधार र कन्चटमा गहिरो चोट रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा नभएको र तल्लो भागमा कपडा लगाएकै अवस्थामा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार घटनास्थल र शवको प्रारम्भिक अवस्थाका आधारमा हालसम्म बलात्कार भएको संकेत देखिएको छैन। प्रारम्भिक अनुसन्धानमा अभिभावकसँगको पुरानो रिसइबीका कारण बालिकाको हत्या गरी शव घाँसीबारीमा फालिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि हत्या कसले र किन गरेको हो भन्ने खुलेको छैन।

घटनाको जानकारी पाएलगत्तै एसपी कटवालसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव शुक्रबार राति ११ः२० बजे पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

पोस्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानबाट घटनाको वास्तविक कारण खुल्ने एसपी कटवालले बताए।

घटनामा संलग्न व्यक्तिको पहिचान हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ। हत्यामा संलग्नको खोजी तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा टोली परिचालन गरिएको छ। टोलीले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै स्थानीयसँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।

कायानत जफारुलका दुई छोरा र एक छोरीमध्ये एक्ली छोरी थिइन्।

दोषीलाई तत्काल पक्राउ गर्न स्थानीयको माग

बालिकाको हत्यापछि स्थानीयवासी र आफन्तले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

अनुसन्धानका लागि घटनास्थल पुगेका एसपी कटवालसमक्ष स्थानीयले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेका हुन्।

स्थानीय मोहम्मद अन्सारीले आफ्नो क्षेत्रमा चार वर्षीया बालिकाको हत्या भएको घटना पहिलोपटक भएको बताए।

‘हामी प्रहरीलाई अनुसन्धानमा पूर्ण सहयोग गर्छौं। तर दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर सार्वजनिक गर्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds