विराटनगर । तत्कालीन नगर प्रमुख हर्क साम्पाङले अस्वीकार गरेको कोशी नदीको पानी धरान ल्याउने करिब ६ अर्ब रुपैयाँ लागतको खानेपानी आयोजना अघि बढ्ने भएको छ ।
धरान उपमहानगरपालिकाका कार्यबहाक प्रमुख आईन्द्रविक्रम बेघाको अगुवाइमा आयोजना औपचारिक रूपमा स्वीकार गर्ने प्रक्रिया अघि बढाईएको हो ।
आयोजना कार्यान्वयनअघि अन्तिम डिजाइन स्वीकृतिका लागि शुक्रवार चतरा क्षेत्रको स्थलगत अनुगमन गरिएको थियो । धरानको दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यले प्रस्ताव गरिएको कोशी–धरान खानेपानी आयोजनाको अन्तिम डिजाइन तयार गर्न सङ्घीय सरकार, एसियाली विकास बैङ्क (एडिबी), डिजाइन टोली, प्रदेश सरकार र धरान उपमहानगरपालिकाका प्रतिनिधिले स्थलगत अनुगमन गरेका हुन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग, डिजाइन टोली, प्रदेश सरकार तथा कार्यवाहक प्रमुख बेघासहितको टोलीले चतरा क्षेत्रको स्थलगत निरीक्षण गरेको हो । अनुगमनका क्रममा आयोजनाको डिजाइनलाई अन्तिम रूप दिने, फिल्ड भेरिफिकेसन गर्ने तथा कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापनबारे छलफल भएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा प्रारम्भिक डिजाइनको काम यसअघि नै सम्पन्न भइसकेको छ । अब स्थलगत अवस्थाको पुनः प्रमाणीकरण अर्थात् फिल्ड भेरिफिकेसनपछि अन्तिम डिजाइन स्वीकृत गर्ने तयारी गरिएको छ ।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख बेघाले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोशीबाट पानी ल्याउने आयोजना स्वीकार गरी अघि बढाउने निर्णय भएको बताए । उनका अनुसार आयोजनाको कार्यान्वयनका लागि आवश्यक बजेट, डिजाइनको अन्तिम तयारी र स्थलगत अवस्थाबारे अनुगमनका क्रममा विस्तृत समीक्षा गरिएको छ ।
करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना सङ्घीय सरकार र एसियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालन हुनेछ । आयोजनाको कुल लागतको ८० प्रतिशत रकम सङ्घीय सरकार र एडिबीबाट व्यहोर्ने व्यवस्था छ । बाँकी २० प्रतिशत रकम स्थानीय साझेदारीबाट जुटाइनेछ ।
स्थानीय साझेदारीतर्फ १५ प्रतिशत टाउन डेभलपमेन्ट फन्ड (टीडीएफ) र ५ प्रतिशत धरान उपमहानगरपालिकाले व्यहोर्ने त्रिपक्षीय मोडल तय गरिएको छ । कार्यवाहक प्रमुख बेघाले उपमहानगरपालिकाको दायित्वमा पर्ने ५ प्रतिशत रकममध्ये चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट विनियोजन गर्ने बताए । उनले आयोजनालाई पूर्ण रूपमा अनुदानमा सञ्चालन गर्न सङ्घीय सरकारसँग पहल जारी राख्ने प्रतिबद्धता पनि जनाए ।
आयोजनाका लागि हालसम्म करिब ५० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको र बाँकी रकम आगामी तीन वर्षभित्र चरणबद्ध रूपमा उपलब्ध गराउने तयारी रहेको जनाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि शरदकुमार यादवले आयोजनाका लागि सङ्घीय सरकारबाट प्रारम्भिक बजेट सुनिश्चित भइसकेको बताए ।
‘चतरा क्षेत्रबाट धरानमा पानी ल्याउने खानेपानी तथा सरसफाइ आयोजनाको डिजाइनलाई अन्तिम रूप दिने प्रक्रिया चलिरहेको छ,’ उनले भने । डीपीआर तयार भइसके पनि स्थलगत अवस्था पुनः प्रमाणीकरण गरेपछि मात्र अन्तिम डिजाइन स्वीकृत गरिने यादवले बताए । विभाग, डिजाइन टोली, प्रदेश सरकार र स्थानीय तहबीचको समन्वयमा आयोजनाको कामलाई तीव्रता दिइने उनको भनाइ छ ।
फिल्ड भेरिफिकेसन र अन्तिम डिजाइन स्वीकृत भएपछि निर्माण कार्य औपचारिक रूपमा अघि बढाउने तयारी गरिएको छ । सम्बन्धित निकायले आयोजना सम्पन्न भएपछि धरानको दीर्घकालीन खानेपानी समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।