विराटनगर। नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनदेखि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएका छन्। असारको तुलनामा साउनमा अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्, जसले आगामी दिनमा बैंकबाट ऋण लिने नागरिकहरूका लागि कर्जा सस्तो हुने संकेत गरेको छ।
निक्षेपमा कुन बैंकको ब्याज कति ?
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको साउन महिनाको ब्याजदर अनुसार २० वटा बैंकमध्ये धेरैले व्यक्तिगत र संस्थागत निक्षेपको दरमा कटौती गरेका छन्। तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ सबैभन्दा धेरै ०.७५ प्रतिशतले ब्याज घटाएर ४ प्रतिशत कायम गरेको छ। ग्लोबल आईएमई बैंकले ०.५ प्रतिशतले घटाएर ४ प्रतिशतमा झारेको छ भने एनएमबि बैंकले ०.२५ प्रतिशतले घटाएर ४.५ प्रतिशत कायम गरेको छ।
यस्तै, सिटिजन्स बैंकले ०.१५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ०.१ प्रतिशत र कुमारी बैंकले ०.०६ प्रतिशतले व्यक्तिगत ब्याजदर घटाएका छन्। एनआईसी एसिया, एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, र हिमालयन लगायत १३ वटा बैंकहरूले भने असारकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्। साउनमा व्यक्तिगत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर ४.५५ प्रतिशत (नबिल र प्रभु बैंक) रहेको छ भने न्यूनतम ३.८५ प्रतिशत (कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंक) रहेको छ।
संस्थागत निक्षेपतर्फ नेपाल बैंकले १ प्रतिशतले ब्याजदर बढाएर ४ प्रतिशत पुर्याएको छ। अन्य धेरै बैंकले संस्थागत ब्याजदर २.७५ देखि ३.५ प्रतिशतको बीचमा राखेका छन्।
नागरिकले कति दरमा पाउँछन् कर्जा ?
निक्षेपको ब्याजदर घट्नुको सिधा असर बैंकहरूको ‘बेस रेट’ (आधार दर) मा पर्छ। निक्षेपको लागत कम हुनासाथ बैंकहरूको आधार दर घट्छ र त्यसले कर्जाको ब्याजदरलाई पनि तल झार्छ।
साउनमा निक्षेपको ब्याजदर घटेकाले अब नयाँ ऋण लिने नागरिकले सस्तो ब्याजदरमा कर्जा पाउने सम्भावना बढेको छ। विशेषगरी घर कर्जा, सवारी कर्जा र व्यावसायिक कर्जाको ब्याजदरमा कमी आउनेछ। पुराना ऋणीहरूको हकमा भने बैंकहरूले त्रैमासिक रूपमा आधार दर परिवर्तन गर्ने हुनाले यसको लाभ केही समयपछि प्राप्त हुनेछ। बैंकहरूमा तरलता (लगानीयोग्य रकम) पर्याप्त रहेकाले साउन महिनादेखि नै बैंकहरू कर्जा प्रवाहमा थप आक्रामक हुने र प्रिमियम दरमा समेत सहुलियत मिल्न सक्ने देखिएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।