लोड हुँदैछ...

मेनु

कोशीमा वर्षा र हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह

कोशीमा वर्षा र हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह

विराटनगर। देशभर मनसुन वायुको प्रभाव कायम रहँदा कोशी प्रदेशका विभिन्न भूभागमा आज वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको प्रभावले गर्दा कोशी प्रदेशका पहाडी तथा तराईका क्षेत्रमा बदली र वर्षाको अवस्था रहनेछ।

आज दिउँसो कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली भेगका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

आज राति पनि प्रदेशका पहाडी तथा तराईका केही स्थानमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने महाशाखाको चेतावनी छ। यसले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात र पर्यटन क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले कोशी प्रदेशका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

कोशी बाहेक बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका क्षेत्रमा पनि आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।