विराटनगर । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। लगातार दोस्रो दिन हरियाली कायम राख्दै बिहीबार नेप्से ७.५० अंकले बढेर २,५९७.८० विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स २.९२ अंकले वृद्धि भई सकारात्मक रह्यो। फ्लोट इन्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९३ अंकले पनि सुधार देखाएका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३७१ कम्पनीका ९४ लाख ६९ हजार कित्ता शेयर ३९ हजार ५९५ पटक किनबेच हुँदा कुल ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन एनआईबिएल ग्रोथ फण्डका इकाइधनीले सबैभन्दा बढी लाभ कमाएका छन्। उक्त फण्डको इकाइ मूल्य १४.९६ प्रतिशतले बढेको छ। त्यसैगरी फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १४.५ प्रतिशतभन्दा बढी र चिरख्वा हाइड्रोपावरको शेयर मूल्य करिब १४.५ प्रतिशतले वृद्धि भएको छ। यता कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। बैंकको शेयर मूल्य ८.७७ प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रह्यो। कम्पनीको २४ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो। त्यस्तै ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को २३ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् भने ४ वटा समूहमा सामान्य गिरावट आएको छ। म्युचुअल फण्ड उपसमूह सबैभन्दा बढी १.६६ प्रतिशतले उकालो लाग्यो। लघुवित्त र निर्जीवन बीमा समूहका सूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।
यद्यपि वित्त, होटल तथा पर्यटन, जलविद्युत तथा उत्पादन एवं प्रशोधन समूहका सूचकमा सामान्य गिरावट देखिएको छ।
आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक नोटमा समाप्त भए पनि बजारमा लगानीकर्ताको उत्साह भने अझै पूर्ण रूपमा फर्किन नसकेको देखिएको छ। कारोबार रकम मध्यम स्तरमै सीमित रहँदा आगामी आर्थिक वर्षमा मौद्रिक नीति, ब्याजदर र सरकारी आर्थिक नीतिले बजारको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।