विराटनगर । बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६ मा झरेको छ ।
तीन कारोबार दिनदेखि नेप्से परिसूचक केही अंकले मात्रै घटबढ भइरहेको छ । नेप्से २६ सय विन्दु धेरै तल ओर्लिन सकेको छैन भने २६ विन्दुभन्दा धेरै माथि पनि पुग्न सकेको छैन ।
कारोबार रकम भने बिहीबार बढेको छ । यस दिन ५ अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ । बुधबार ४ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको थियो ।
कारोबारमा आएकामध्ये उत्पादनमूलक र सामूहिक लगानी कोष समूह मात्रै बढेको छ । यी समूहमा एक प्रतिशतभन्दा पनि कमले वृद्धि भएको हो ।
यसदिन ३२० स्टकको कारोबारमा आ ११६ वटाको मूल्य बढेको छ । १८३ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ । मंगलबारबाट कारोबारमा आएको माबिलुङ्ग इनर्जीको र आज बिहीबारबाट कारोबारमा आएको दरमखोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।
बजार बन्द हुँदा माबिलुङ्ग इनर्जीको मूल्य ४२२ रूपैयाँ र दरमखोलाको ४४२ रूपैयाँ पुगेको छ। यस्तै, सम्पदा लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको प्रतिकित्ता ९४३ रूपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन शिवम सिमेन्ट्सको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । कम्पनीको ३० करोड ९१ लाख रूपैयाँको सेयर किनबेच भएको हो ।

