विराटटनगर । सेयर बजारमा पाँच दिनपछि नेप्सेसँगै कारोबारमा पनि बृद्धि भएर चार अर्ब नाघेको छ।
कात्तिक २५ गतेयता हरेक दिन सेयर बजारमा चार अर्बभन्दा कमको कारोबार भइरहेकोमा मंगलबार कारोबार रकम ४ अर्ब १० करोड रूपैयाँ पुगेको हो ।
सोमबार ३ अर्ब ९४ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। बजार बढ्न थालेपछि कारोबार रकम पनि बढ्न थालेको हो। यस दिन नेप्से मंगलबार १५.७० अंकले बढेर २५६६ विन्दुमा पुगेको छ ।
लगातार दास्रो दिन बजार बढ्को हो । सोमबार पनि बजार ९.७८ अंकले बढेको थियो ।
कारोबारमा आएका सबै समूह बढेका छन्। होटेल र लगानी समूहमा एक प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ। यसदिन ३५५ सुचिकृत कम्पनी कारोबारमा आउँदा २२८ वटाको मूल्य बढेको छ भने ७९ वटाको मूल्य घटेको छ । बाँकीको स्थिर छ।
हालै सूचीकरण भएका पाँच कम्पनीमा हरेक दिनजसो मूल्य बढेर सर्किट ब्रेक लागेको छ । सागर डिष्टिलरी, बुंगल हाइड्रो, बन्दिपुर केवलकार, झापा इनर्जी र माबिलुङको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो।
एभरेष्ट बैंकको ऋणपत्रको मूल्य सबैभन्दा धेरै ३.५४ प्रतिशतले घटेको छ । प्रतिइकाइ १ हजार ९० रूपैयाँमा यो ऋणपत्रको कारोबार भएको हो ।
यस दिन साहस उर्जाको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको २२ करोड रूपैयाँको सेयर किनबेच भएको हो ।

