महिला उद्यमीलाई सहुलियतमा कर्जा

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमा गौरी कृषि सहकारीले संस्थाले ५ सय महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने योजना अघि सारेको छ ।

संस्थाले विपन्न वर्ग कार्यक्रम अन्तर्गत नबिल बैंकसँगको सहकार्यमा महिला उद्यमशीलता कर्जा प्रवाह गर्ने योजना अघि सारको हो ।

संस्थाले व्यापारिक पूँजीको आधारमा ४ प्रतिशत ब्याजमा १ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारले बताउनुभयो । उहाँले कर्जा प्रवाहका लागि नबिल बैंकको प्रादेशिक कार्यालयसँग सम्झौतासमेत गरिएको जानकारी दिनुभयो ।

कर्जा लिन चाहने महिला उद्यमीहरुले सहकारीमार्फत आफ्नो कागजात पेश गरेपछि सहकारीले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले कर्जा उपलब्ध गराउनेछ । कर्जा लिनका लागि व्यवसाय दर्ता र पान नम्बरसहित आफ्नो कागजात पेश गर्नुपर्नेछ । उद्यमीले १ लाखदेखि १० लाख रुपैयाँसम्म कर्जा लिएर ४ वर्षसम्मको अवधिमा भुक्तानी गर्नसक्ने प्रावधान छ ।

तोकिएको समयभित्रै ऋण भुक्तानी गरिसक्नेलाई ४ प्रतिशत ब्याजदर तोकिएको हो । नबिल बैंकका प्रादेशिक कार्यालय विराटनगर प्रमुख मोहन सुब्बाले बैंकको पहुँचबाहिर रहेका ग्रामिण क्षेत्रका नागरिकलाई बैंकसम्म प्रत्यक्ष रुपमा जोडन सहकारीसँगको सहकार्यमा सुलभ ब्याजदरमा कर्जा प्रवाहको योजना ल्याएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले पनि विपन्न वर्गका लागि निजी बैंकहरुले अनिवार्य रुपमा कर्जा प्रवाह गर्नुपर्ने परिपत्र गरेकोले नबिलले सहकारीसँग सहकार्य गरेको हो । मोरङको दक्षिणवर्ती क्षेत्रमा रहेको उमा–गौरी कृषि सहकारीमा हाल ६ हजार १ सय २५ जना शेयर सदस्यहरु रहेका छन् । १५ करोड ८० लाखको ऋण लगानी रहेको सहकारीमा ३ करोड ७५ लाख बराबरको शेयर पूँजी रहेको छ ।

ग्रामीण भेगमा आधारित सहकारीले भने कृषि उद्यमको कर्जालाई बढी प्राथमिकतामा राखेको छ ।

बिहिबार, ०६ चैत, २०७६, बिहानको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर