विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र युरोपियन युनियनको संयुक्त आयोजनामा वातावरण र सामाजिक सुशासन सम्बन्धी एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता महासंघका कोशी प्रदेश अध्यक्ष श्री राजेन्द्र राउतले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले आजको विश्वव्यापी व्यावसायिक परिप्रेक्ष्यमा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) एक महत्वपूर्ण अवधारणा बनिसकेको बताए । उनले अब लगानीकर्ताहरूले कुनै पनि कम्पनी वा उद्योगको मूल्यांकन नाफा –घाटाको आधारमा मात्र नगरी सामाजिक उत्तरदायित्व, वातावरणीय प्रभाव र सुशासनको अभ्यासलाई पनि प्रमुख आधार बनाउन थालेको स्पष्ट पारेका छन् । ‘ईएसजी अवधारणाले कोशी प्रदेशलाई मात्र होइन, सम्पूर्ण नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ,’अध्यक्ष राउतले भने, ‘कोशी प्रदेशमा ईएसजी अभ्यासहरूलाई अपनाउन सके भविष्यमा यो प्रदेश लगानीका लागि आकर्षक गन्तव्य बन्न सक्छ ।’

उनले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विगत केही वर्षदेखि नै पर्यावरण र सामाजिक सुशासनको मर्मसँग मेल खाने कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिएका छन् । प्रदेशका विभिन्न जिल्लामा विभिन्न जातजातिहरूद्वारा सञ्चालित साना तथा मझौला उद्योगहरूको प्रवर्द्धन, महिला उद्यमीद्वारा सञ्चालित उद्योगको क्षमता विकास, नेपाली ढाका कपडा उत्सवको आयोजना, र ग्रामीण क्षेत्रका साना उद्योगका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन ब्रान्डिङ तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिएको उनले उल्लेख गरे । साथै, कोशी प्रदेशका विभिन्न जातजातिहरूले उत्पादन गरेका रैथाने उत्पादनहरूलाई महोत्सवहरूमार्फत एउटै मञ्चमा ल्याई प्रवर्द्धन गर्ने कार्यको थालनी गरिएको पनि उनले जानकारी गराएका छन् ।

कार्यक्रमको अर्को सत्रमा आईएफसीका यशस्वी श्रेष्ठले आईएफसीको परिचय, नेपालमा सञ्चालित कार्यक्रमहरू र अन्तरक्रियाको उद्देश्यबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, आईएफसीका लोपा रहमान र सोफिया टामोटले व्यावसायिक सुशासन, यसको महत्व, र वातावरणीय तथा सामाजिक चुनौतीहरूका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेकि थिइन् ।

कार्यपत्र प्रस्तुतिपछि भएको छलफलमा मोरङ व्यापार संघका उपाध्यक्ष अनिल सारडाले उद्योगहरूको वर्तमान अवस्थाबारे जानकारी गराउँदै ईएसजी मापदण्डहरू के–के हुन् भनी जिज्ञासा राखेका थिए त्यसैगरी, ग्रिन यार्ड एग्रो फार्मका सञ्चालक गिरिराज बस्नेतले कृषि क्षेत्रमा वातावरणीय जोखिम अधिक रहेको बताउँदै गाईपालन क्षेत्रमा देखिएका जोखिमहरूबारे अवगत गारएका थिए । सहभागी अन्य उद्योगी–व्यवसायीहरूले आईएफसीले नेपालमा गर्ने लगानी र त्यसका प्रक्रियाहरूबारे प्रश्नहरू सोधेका थिए । सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ आईएफसीका प्रतिनिधिहरूले दिएका थिए ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू तथा ४० भन्दा बढी उद्योग प्रतिष्ठानका सञ्चालकहरू गरी करिब ५० जनाको उपस्थिति रहेको थियो ।