लोड हुँदैछ...

मेनु

सर्लाहीमा ८० मिटर अग्लो टावर चढेर प्रेमिका माग्ने युवकको सकुशल उद्धार

सर्लाहीमा ८० मिटर अग्लो टावर चढेर प्रेमिका माग्ने युवकको सकुशल उद्धार

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर प्रेमिकालाई बोलाइदिन माग गर्ने एक युवकको करिब सवा तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहानै टेलिकमको टावरमा चढेका थिए । उनले टावरमा पुगेपछि आफ्ना साथीमार्फत आफू माथि चढेको जानकारी गराएका थिए, जसलगत्तै प्रहरीलाई खबर गरिएको थियो ।

सर्लाहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलका अनुसार बिहान ५ः३० बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरी उद्धार कार्य सुरु गरिएको थियो । हुसेन मानसिक तनावमा रहेको र टावरबाटै उनले आफ्नो प्रेमिकालाई बोलाइदिन माग गरिरहेका थिए ।

सुरक्षाकर्मी र परिवारका सदस्यहरूले उनलाई निरन्तर सम्झाइ–बुझाइ गरेपछि उनी बिहान करिब ८ : ५० बजे सकुशल टावरबाट तल झर्न सफल भएका हुन् । उद्धारपछि हुसेनलाई आवश्यक मनोचिकित्सकीय परामर्श र उपचारका लागि स्वास्थ्य संस्था पठाइएको एसपी पौडेलले जानकारी दिए ।

युवक टावर चढेको खबर फैलिएपछि नेपाल टेलिकम कार्यालय परिसरमा स्थानीयवासीको ठूलो भीड लागेको थियो । सुरक्षाकर्मीको संयमता र परिवारको सहयोगले कुनै अप्रिय घटना हुन नदिई युवकको सकुशल उद्धार सम्भव भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।