लोड हुँदैछ...

मेनु

फोन विवादपछि खुकुरी र छुरी बोकेर घर घेराउ, चार युवक पक्राउ

फोन विवादपछि खुकुरी र छुरी बोकेर घर घेराउ, चार युवक पक्राउ

विर्तामोड । सामान्य फोन विवादले उग्र रूप लिएपछि झापाको झापा गाउँपालिकामा धारिलो हतियारसहित आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन्।

शनिबार राति करिब ११ बजे झापा गाउँपालिका–५ पुरानो शरणामतिका २६ वर्षीय सुरेश हेमरमको घरमा पुगेर आक्रमणको प्रयास गरेको आरोपमा झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु, १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकार पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरू खुकुरी र छुरी बोकेर हेमरमको घर घेराउ गर्दै ‘काटिदिन्छु, मारिदिन्छु’ भन्दै धम्की दिइरहेका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षक चुक्तबहादुर विष्ट र प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले चारै जनालाई खुकुरी र छुरीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा हेमरम र मुर्मुबीच फोनमा भएको विवादको रिसमा मुर्मुले अन्य तीन जनालाई साथमा लिएर हेमरममाथि आक्रमण गर्न गएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds