लोड हुँदैछ...

मेनु

खोटाङको सिंगो गाउँ पहिरोको जोखिममा, २६ परिवार प्रभावित

खोटाङको सिंगो गाउँ पहिरोको जोखिममा, २६ परिवार प्रभावित

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको सिंगो गाउँ पहिरोको जोखिममा परेको छ। स्थानीय बाछेर्कुको पहिरोले चिउरीडाँडा, बरबोट, हल्कुडाँडा र डाँडागाउँका २६ घरपरिवार जोखिममा परेका हुन्।

स्थानीय तथा पूर्ववडाध्यक्ष खगेन्द्र राईका अनुसार बर्सेनि जमिन भासिँदै जाँदा अजम्बरी आमा समूहको भवनसहित २६ घरपरिवार पहिरोको जोखिममा परेका छन्। पहिरोका कारण स्थानीय मनकुमार परियार र खड्ग परियार विस्थापित भइसकेका छन्।

वर्षायाममा जमिन विस्तारै भासिँदै जाँदा पहिरोले आसपासका क्षेत्रसमेत तान्दै लगेको र जोखिम दिनहुँ बढ्दै गएको राईले बताए। उनका अनुसार जसबहादुर दर्जी र देवबहादुर राई पनि जोखिममा छन्।

चिउरीखर्कका नवराज राई, रामकाजी राई, नरेश राई, पूर्णबहादुर राई, ईश्वर राई, कृष्णकुमार राई, जुद्धबहादुर राई, शम्भु राई, उमेश राई र मनकुमारी राईलगायतका घर पहिरोबाट प्रभावित भएका छन्। त्यस्तै हल्कुडाँडाका परीधन राई, रघुबहादुर राई, श्रीप्रसाद राई र सहरमणि राई तथा बरबोटका पदमकुमार राई, हरिचन्द्र राई, ढाकमशेर राई, चतुरभक्त राई, गणेशभक्त राई र खगेन्द्र राईका घरसमेत प्रभावित भएका छन्।

‘हाम्रोमा पहिरोले बर्सेनि जमिन भासिँदै आएको छ। बसिरहेको ठाउँ भएकाले मायाले छाड्न सकिएको छैन,’ राईले भने, ‘यस्तै अवस्था रहिरहे सिंगो गाउँ नै विस्थापित भएर अन्यत्र सर्नुपर्ने अवस्था आउन सक्छ।’ वडाध्यक्ष हिमालभक्त राईका अनुसार पहिरोको जोखिमले सिंगो गाउँ प्रभावित भएको छ। गत वर्ष सडक खन्ने क्रममा पहिरो जाँदा केही घरमा क्षति पुगेपछि रिटेनिङ वाल लगाएर जोगाइएको उनले बताए।

‘अहिले पहिरोको जोखिमले सिंगो गाउँलाई असर परेको छ,’ उनले भने, ‘गत वर्ष सडक खन्ने क्रममा केही घरमा असर परेपछि रिटेनिङ वाल लगाएर जोगाइएको थियो।’

जिल्लाको हर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकमा समेत पहिरोले क्षति पुर्‍याएको थर्पुडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक पर्शु राईले बताए। उनका अनुसार बरबोट र चिउरीखर्कबीच सडक भासिएपछि मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds