विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्।
दुई दलबीच प्रदेश सरकार गठनका लागि सहमति भएपछि कांग्रेस प्रतिपक्षमा पुग्नुपर्ने अवस्था आएको भन्दै राईले नेतृत्वको निर्णयप्रति प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले चुनावमा प्रतिस्पर्धा गर्नुको उद्देश्य जित्नु रहेको बताएका छन्। चुनाव हारेपछि ‘हारबाट डराउनु हुँदैन’ भन्दै त्यसलाई सामान्यीकरण गर्नु नेतृत्वको कमजोरी ढाक्ने तर्क मात्र भएको उनको टिप्पणी छ।
‘सत्य के हो भने चुनावमा प्रतिस्पर्धा गर्नु हार्नलाई होइन, जित्नलाई नै हो। हारेपछि म डराउँदिनँ, चिप्लोमा लड्नु र चुनावमा हार्नु उस्तै–उस्तै हो, लाज मान्नु हुँदैन भन्नु लाज ढाक्ने वस्त्ररूपी कुतर्क मात्र हो,’ उनले भनेका छन्। जितेपछि मात्र सरकार बनाउन सकिने र सरकार बनाएपछि मात्र काम गर्न सकिने भन्दै राईले कांग्रेस नेतृत्वको पछिल्लो निर्णयमाथि प्रश्न उठाएका छन्।
‘जितेपछि मात्र सरकार बनाउन सकिन्छ, सरकार बनाउन सके मात्र काम गर्न सकिन्छ। यो पनि सत्य हो,’ उनले लेखेका छन्। कांग्रेस र एमालेबीच विभिन्न प्रदेशमा सत्ता सहकार्य भइरहेका बेला प्रदेशसभा प्रतिपक्षविहीन नरहेको भन्दै उनले कांग्रेसलाई कोशी प्रदेशमा सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षमा पुग्ने अवस्थालाई कसरी हेर्ने भन्ने प्रश्न गरेका छन्।
‘नेपाली कांग्रेस र एमालेबीच प्रदेशहरूमा सत्ता सहकार्य भइरहँदा तपाईंको बुझाइमा प्रदेशसभाहरू प्रतिपक्षविहीन थिए? प्रदेश सरकारमा भइरहेको नेपाली कांग्रेसलाई अब प्रमुख प्रतिपक्षमा पुर्याउनुभयो। यसलाई हामीले गल्ती नभनेर महान् कार्य भनिदिनुपर्ने हो?’ उनले प्रश्न गरेका छन्।
नेतृत्वको निर्णयलाई सही ठहर्याउनेहरूलाई समेत उनले आलोचना गरेका छन्। ‘यो काम ठीक थियो भनेर दास र लासहरूले मात्र भन्लान्, तर दुई खुट्टा आफ्नै जमिनमा टेकेकाहरूले सही थियो भन्न सक्दैनन्,’ उनले भनेका छन्।
प्रदेश सरकार गठनका विषयमा पार्टी नेतृत्वले गरेको निर्णयमाथि प्रश्न उठाउँदै महामन्त्री राईले ‘प्रश्न मरेको छैन’ भन्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।