लोड हुँदैछ...

मेनु

६ घण्टा प्रहरी नियन्त्रणमा रहेका मुकेश कार्की परिवारको जिम्मा

६ घण्टा प्रहरी नियन्त्रणमा रहेका मुकेश कार्की परिवारको जिम्मा

विराटनगर — विराटनगरका सुधार केन्द्र सञ्चालक मुकेश कार्कीलाई प्रहरीले करिब ६ घण्टापछि परिवारको जिम्मा लगाएको छ।

प्रहरी नियन्त्रणमा रहेका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई शनिबार बिहान करिब ७ः३० बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको थियो।

गिरीसँगको सम्बन्ध र उनको आर्थिक गतिविधिबारे थप जानकारी लिन कार्कीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

‘हामीलाई थप सूचना आएको थियो। उहाँलाई सोधपुछका लागि ल्याइएको हो। सोधपुछपछि परिवारको जिम्मा लगाएर पठाइएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले भने।

प्रहरीका अनुसार कार्कीलाई शनिबार दिउँसो करिब २ बजे परिवारको जिम्मा लगाएर पठाइएको हो। करिब ६ घण्टा प्रहरी कार्यालयमा राखेर सोधपुछ गरेपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ।

गिरीको आर्थिक हिसाब–किताब राख्ने, आर्थिक गतिविधि व्यवस्थापन गर्ने तथा आवश्यक समन्वय मिलाउने काममा कार्कीको भूमिका रहेको हुन सक्ने प्रहरीको आशंका छ। सोही विषयमा जानकारी लिन उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ।

यद्यपि, कार्कीलाई हालसम्म कुनै अभियोगमा पक्राउ गरिएको नभई गिरीसँगको सम्बन्ध र सम्भावित आर्थिक गतिविधिबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds