विराटनगर । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विद्यार्थी आन्दोलन चर्किएपछि उनले राजीनामा दिएका हुन्।
प्रधानले शनिबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। उनले सामाजिक सञ्जाल एक्समार्फत राजीनामा पत्र सार्वजनिक गर्दै जन्तरमन्तरसहित देशभर उत्पन्न परिस्थितिमा ‘देशविरोधी शक्तिहरूले अनुचित फाइदा उठाउन नपाऊन्’ भनेर आफूले राजीनामा दिएको बताएका छन्।
‘देशविरोधी शक्तिहरूले यसको अनुचित फाइदा उठाउन नपाऊन्, देशको एकता कायम रहोस्, एउटै विद्यार्थीको भविष्य पनि कानुनी उल्झनमा नफसोस् र हाम्रा बालबालिकाहरू निर्धक्क भएर आफ्नो पढाइ र करियर निर्माणमा ध्यान दिन सकून् भनेर मैले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको छु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर सोमबारदेखि विद्यार्थी आन्दोलन चर्किएको थियो। आन्दोलन दिल्लीबाट विभिन्न राज्यमा समेत फैलिएको थियो। प्रदर्शनकारीहरूले शिक्षामन्त्री प्रधानको राजीनामासहित प्रश्नपत्र चुहावटको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए।
आन्दोलनरत क्रोच जनता पार्टी (सिजेपी) ले प्रधानको तत्काल राजीनामासहित प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका परीक्षार्थीका परिवारलाई प्रतिपरिवार १ करोड भारु क्षतिपूर्ति र आन्दोलनका क्रममा विद्यार्थी तथा प्रदर्शनकारीमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेको थियो।
शुक्रबार सरकार र सिजेपी प्रतिनिधिबीच दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा करिब दुई घन्टा वार्ता भएको थियो। वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र राज्यमन्त्री जितेन्द्र सिंह सहभागी थिए। सिजेपीका तर्फबाट प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांका सहभागी थिए।
वार्ताका क्रममा सिजेपी प्रवक्ता सौरभ दासले शिक्षामन्त्रीको राजीनामाको मागमा कुनै सम्झौता नहुने बताएका थिए। सरकारले प्रदर्शनकारीका मागबारे निर्णय गर्न शनिबार दिउँसोसम्मको समय मागेको थियो।
राजीनामा पत्रमा प्रधानले नीट प्रश्नपत्र चुहावट प्रकरणमा सरकारले तत्काल कारबाही गरेको दाबी गरेका छन्। घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)लाई सुम्पिएको, परीक्षा रद्द गरी पुनः परीक्षा सञ्चालन गरिएको र त्यसको नतिजासमेत सार्वजनिक भइसकेको उनले उल्लेख गरेका छन्।
आगामी वर्षदेखि नीट परीक्षा कम्प्युटरमा आधारित प्रणालीबाट सञ्चालन गर्ने निर्णयसमेत भएको उनले बताएका छन्।
‘परीक्षा माफियाका कारण कुनै पनि प्रतिभाशाली विद्यार्थीको भविष्य बर्बाद नहोस् र कसैमाथि अन्याय नहोस् भन्ने मेरो दृढ संकल्प थियो,’ प्रधानले भनेका छन्।
उनले पछिल्लो १० दिनमा विकसित घटनाक्रमले आफूलाई दुःखी बनाएको बताएका छन्। ‘यो मेरो व्यक्तिगत प्रतिष्ठाको विषय होइन,’ उनले राजीनामा पत्रमा भनेका छन्।
प्रधानले आफू चार दशकभन्दा बढी समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारको अभियानसँग जोडिएको उल्लेख गर्दै भारतका युवाहरूको सपना र अपेक्षालाई आफूले सधैँ सम्मान गरेको बताएका छन्।
राजीनामा दिए पनि राष्ट्रसेवामा आफू सधैँ समर्पित रहने उनले बताएका छन्।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।