विराटनगर । नेकपा (एमाले)ले काँग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिष्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेको छ । उक्त सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ ।
कोशी प्रदेशमा अहिले पनि एमालेकै संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । केन्द्रले नयाँ गठबन्धनको सहमति गरेपछि अब उनै मुख्यमन्त्री कार्की निरन्तर रहन्छन् कि राजीनामा दिन्छन् त्यो भने हेर्न बाँकी छ ।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीले मुख्यमन्त्री को हुने भन्ने विषयमा अब पार्टीभित्र छलफल सुरु हुने बताए । ‘मुख्यमन्त्री को हुने भन्ने विषय अबको पार्टीका बैठक र छलफलका क्रममा प्रवेश हुन्छन्,’ पराजुलीले भने, ‘नयाँ परिस्थिति बनेपछि मुख्यमन्त्री बन्ने आकांक्षा राख्ने साथीहरु हुनसक्छन् । त्यसपछि प्रदेश समितिले छलफल गरेर केन्द्रमा सिफारिस गर्छ । अनि केन्द्रले टुंग्याउँछ ।’
बाहलवाला मन्त्री पराजुलीले मुख्यमन्त्री हिक्मत कार्की नै रहन्छन् भन्ने विषयमा स्पष्ट कुरा राखेनन् । यसको मतलब अब कोशी प्रदेशमा पनि मुख्यमन्त्री नयाँ आउने देखिएको छ । यसअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली कार्कीसँग असन्तुष्ट रहेको चर्चा हुने गरेको थियो । एमाले स्रोतका अनुसार नेतृत्वले अब प्रदेशको मुख्यमन्त्री पनि परिवर्तन गर्ने चाहना राखेको छ । ‘सम्भवतः मुख्यमन्त्री परिवर्तन नै हुन्छ होला,’ उक्त स्रोतले भन्यो । मुख्यमन्त्रीको दौडमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो अगाडि छन् । एमालेमा कार्कीपछिको सिनियर नेता उनै मेन्याङ्बो हुन् ।
नेतृत्व परिवर्तन गर्दा हालका मुख्यमन्त्री कार्कीलाई अपमानित महसुस हुन सक्ने भए पनि राजनीतिक परिस्थिति र सहमतिका आधारमा अघि बढ्नुपर्ने बाध्यता देखिन्छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि सहज ढंगले पद हस्तान्तरण गर्ने बताउँदै आएका छन् । तर, त्यसका लागि विधि र प्रक्रियाबाट हुनुपर्ने उनको अडान छ ।
संघीयता कार्यान्वयनमा आएर प्रदेश सरकारहरू बन्न थालेयता कोशी प्रदेशमा ९ पटक सरकार गठन भइसकेको छ । यस अवधिमा ६ जना फरक–फरक नेताहरूले मुख्यमन्त्रीको कुर्सीमा बस्ने अवसर पाएका छन् ।
२०७४ फागुन २ गते प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमालेका शेरधन राईले पदभार ग्रहण गरेका थिए । तत्कालीन नेकपा विभाजनको असर प्रदेशसम्म परेपछि शेरधन राईले राजीनामा दिए र एमालेकै भीमप्रसाद आचार्यले २०७८ भदौ ११ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर, एमाले विभाजन भएपछि उनको कार्यकाल जम्मा दुई महिना (२०७८ कात्तिक १५ सम्म) मात्र रह्यो । त्यसपछि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र कुमार राई २०७८ कात्तिक १६ गते मुख्यमन्त्री बने । उनी पहिलो प्रदेश सभाको कार्यकाल सकिएर नयाँ निर्वाचन नहुन्जेल (२०७९ पुस २४ गतेसम्म) सत्तामा रहे ।
दोस्रो प्रदेश सभा निर्वाचन (२०७९) पछि त कोशी प्रदेशमा सत्ताको लुकामारी नै चल्यो । कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा वर्ष २०८० कोशीको संसदीय इतिहासमै सबैभन्दा अस्थिर वर्ष बन्न पुग्यो । २०८० सालभित्र मात्रै कोशीमा ५ पटक मुख्यमन्त्री फेरबदल भए ।
२०७९ पुस २५ गते पहिलो पटक मुख्यमन्त्री बनेका एमालेका हिक्मत कुमार कार्कीको सरकार ६ महिनापछि २०८० असार २१ गते ढल्यो । त्यसपछि कांग्रेसका उद्धव थापा २०८० असार २२ गते मुख्यमन्त्री नियुक्त भए । तर, सभामुखको हस्ताक्षर प्रयोग गरेको भन्दै सर्वोच्च अदालतको आदेशबाट उनको सरकार २४ दिनमै (साउन १६ गते) ढल्यो ।
लगत्तै २०८० साउन १७ गते थापा नै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भए, तर सभाध्यक्षलाई मतदान गराएको भन्दै सर्वोच्चले फेरि उनको सरकार बर्खास्त गरिदियो । उनको दोस्रो कार्यकाल पनि भदौ २१ गतेसम्म मात्रै टिक्यो ।
उद्धव थापाको सरकार ढलेपछि सर्वोच्च अदालतको परमादेशबाट २०८० भदौ २२ गते एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की दोस्रो पटक मुख्यमन्त्री बने । तर विश्वासको मत नपाउने भएपछि उनी पनि जम्मा एक महिना (असोज २७ गतेसम्म) मात्र सत्तामा रहे ।
त्यसपछि कांग्रेसभित्रै विद्रोह गरेर केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम २०८० असोज २८ गते मुख्यमन्त्री बने । केदार कार्कीले करिब ७ महिना सरकार चलाए पनि केन्द्रमा फेरिएको एमाले–माओवादी गठबन्धनको असर कोशीमा प¥यो । प्रदेश सभाबाट विश्वासको मत गुमाएपछि केदार कार्की २०८१ वैशाख २६ गते पदमुक्त भए ।
त्यसलगत्तै २०८१ वैशाख २७ गतेदेखि हिक्मत कुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भई हालसम्म पदमा बहाल रहेका छन् । तथ्याङ्कलाई समग्रमा हेर्दा एउटै प्रदेश सभा कार्यकालमा एमालेका हिक्मत कुमार कार्कीले सर्वाधिक ३ पटक र कांग्रेसका उद्धव थापाले २ पटक मुख्यमन्त्री पदको सपथ लिएका छन् । शेरधन राई, भीमप्रसाद आचार्य, राजेन्द्र कुमार राई र केदार कार्कीले एक–एक पटक प्रदेशको नेतृत्व सम्हालेका छन् । अब फेरि कोशी प्रदेशमा १० औं पटक नयाँ सरकार गठन हुने तयारीमा छ । प्रदेशसभाको दोस्रो कार्यकालमै अब बन्ने सरकार ७ औं सरकार हुनेछ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।