लोड हुँदैछ...

मेनु

‘वर्तमान मुख्यमन्त्रीलाई नै विश्वासको मत दिँदा सहज हुन्छ’

‘वर्तमान मुख्यमन्त्रीलाई नै विश्वासको मत दिँदा सहज हुन्छ’


नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच जुन दुई बुँदे सहमति भयो, यसपछि यो कोशी प्रदेशको राजनीति र सत्ता समीकरण कसरी अगाडि बढ्ला ? स्थिति सहज देख्नुहुन्छ ?

पार्टीमा एउटा समझदारी र सहमति भएपछि अब जान त जाने नै भइहाल्यो नि ! उहाँहरूको आफ्नो आन्तरिक सल्लाह कसरी होला, हाम्रो पनि छलफल चलिरहेकै छ । पार्टीहरूले पनि आफ्नो व्यवस्थापनको कुरा, सल्लाहको कुरा गर्दा समय त लाग्छ नै । तर अब सुरुमा केही विषयहरूमा सहमति गरेर जानुपर्छ होला ।

यो सहमतिलाई लिएर विशेषगरी नेकपाका कार्यकर्ताहरूको तर्फबाट अलि बढी आलोचना र टिप्पणीहरू भइरहेको देखिन्छ नि ?

आलोचना त एउटा पाटो भयो, कतिपयलाई मिल्नु हुँदैनथ्यो भन्ने होला । तर यो मिल्नुपर्ने एउटा बाध्यता पनि हो, जुन कुरा धेरैले नबुझेर पनि हो कि जस्तो लाग्छ । कांग्रेस प्रतिपक्षमा बस्ने भएपछि सरकार नै नबन्ने स्थिति हुँदाखेरि हामी पनि नमिल्दा सरकार नबन्ने भयो । त्यसपछि मध्यावधिमा जानुपर्ने हुन्थ्यो । अहिलेको आर्थिक अवस्था र जनताको अरुचि हेर्दा मध्यावधिमा जाने कुरा हुँदैन । त्यसैले सरकार त बनाइदिनै पर्थ्यो । त्यो पाटोबाट हेर्दा यो आवश्यक थियो ।

शक्ति बाँडफाँटको कुरा चाहिँ कसरी होला त ?
–बाँडफाँटको सन्दर्भमा, यो एकता र गठबन्धन भन्नुको अर्थ नै आलोपालोको कुरा हो । तर हामीले त पालो पाउने अवस्थै बनेन । किनभने अब एक वर्षपछि चुनाव हुने कुरा आइहाल्छ । एमालेले त यो भन्दा पहिले चार पटक बजेट ल्याइसकेको र नेतृत्व गरिसकेको छ । हाम्रो समर्थनमा पहिले हिक्मत कार्की मुख्यमन्त्री हुनुभएको हो । बीचमा कांग्रेसले पनि हाम्रो समर्थनमा सरकार बनायो । हाम्रो पार्टीको तर्फबाट मात्र सरकारको नेतृत्व गर्न बाँकी थियो । त्यस हिसाबले चाहिँ अहिलेको निर्णय त्यति न्यायोचित जस्तो देखिएन । तर पनि अहिलेको राष्ट्रिय परिस्थितिले धेरै वादविवाद गर्ने अवस्था छैन । अब काम गर्ने सन्दर्भमा बजेटको पुनरावलोकन, रोकिएका विधेयकहरूलाई कसरी टुङ्ग्याउने भन्ने जस्ता कुरामा सहमति खोजेर जानुपर्ने अवस्था छ ।

बजेटको कुरा गर्दा, एमाले भित्रै र प्रतिपक्षबाट पनि बजेट पुनरावलोकनको कुरा उठेको थियो । अब तपाईंहरु यसलाई सहमतिको शर्त बनाउनु हुन्छ ?

बजेट पुनरावलोकन हुने सम्भावना छ । यो भन्दा अगाडि पनि केन्द्रमा पूरक बजेट ल्याउने अभ्यास भइसकेको छ । हाम्रो प्रदेशमा पनि केदार कार्की मुख्यमन्त्री हुँदा बजेटपछि प्रतिस्थापन विधेयक ल्याएर बजेटको पुनरावलोकन गर्ने काम भएको थियो । त्यसैले प्राविधिक र कानुनी रूपमा यो सम्भव छ । अब मुख्य कुरा सहमतिमा उहाँहरू कत्तिको तयार हुनुहुन्छ भन्ने मात्र हो ।

नयाँ सहमति अनुसार कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्री नै निरन्तर हुनुहुन्छ कि मुख्यमन्त्री पनि फेरिने अवस्था आउँछ ?
अब हामीले त एउटा मनसाय राख्ने मात्रै हो । पार्टी भित्रको कुरा भएको हुनाले जसलाई अगाडि सार्यो, त्यसमा जोडिनै पर्यो । कानुनी जटिलता र सहजताको हिसाबले त अहिलेकै मुख्यमन्त्री हुँदा विश्वासको मत लिने दिन हामीले मत दिँदा सजिलो हुने हो । तर एमालेभित्र पनि विकल्पमा नयाँ मान्छेलाई अगाडि सार्ने भन्ने कुरा सुनिन्छ । खासगरी पार्टी अध्यक्षको एउटा कुरा र महासचिव लगायतको अहिलेकै कायम गर्ने भन्ने दुई खालको विचार रहेछ । उहाँहरूको छलफलपछि के हुन्छ, त्यो हेर्न बाँकी छ ।

पछिल्लो घटनाक्रमले वामपन्थीहरूको सहकार्यको ढोका त खोलेको देखिन्छ, तर यसको म्यासेज जनस्तरमा त्यति राम्रो जान सकिरहेको छैन । सहकार्यको आगामी दिन कस्तो अनुमान गर्नुहुन्छ ?
तत्काल त अब विगतको एकतापछिको घटनाक्रमले गर्दा केही नकारात्मक असर देखिएको हुनसक्छ । हिजो एमाले नेतृत्वबाट अलि दम्भका साथ आफू ठूलो भएको नाताले एकता भङ्ग गर्दा पनि केही हुँदैन भन्ने व्यवहार देखियो । सामूहिक निर्णय भन्दा व्यक्तिगत निर्णयहरू हुँदै गए । त्यसको परिणाम अहिले सबैले भोगिरहेका छौँ । अब यी सबै कुराबाट शिक्षा लिएर व्यवहारिक रूपमा नै आत्मआलोचित हुँदै व्यवहारलाई सहज बनाउँदै लैजाँदा बिस्तारै सकारात्मक माहौल बन्ला । नीतिगत कुरा र सिद्धान्तका कुरामा धेरै दूरी छैन । मुख्य कुरा व्यवहारको हो ।

भनेपछि बिस्तारै पार्टी एकतासम्म पुग्न सक्ने सम्भावना छ ?
नीतिगत हिसाबले त विचार मिल्नेहरू एक ठाउँमा आउनुपर्छ भन्ने कुरा छँदैछ । समयक्रममा मिल्नै पर्ने हो । तर व्यवहारिक रूपमा हिजोका तितो अनुभूतिहरू बिर्सिएर अघि बढेपछि एकता हुन सक्छ । एकता नहुँदा छुट्टाछुट्टै चुनाव लड्दाको नतिजा हामीले देखिसकेका छौँ । त्यसैले एकताले नै फाइदा पुर्याउँछ । अहिलेको यो सरकारको सहकार्य एउटा सुरुवात र परीक्षा पनि हो । यो परीक्षामा उत्तीर्ण भइयो भने एकता तर्फ जान सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds