विराटनगर । नेपाली कम्युनिस्ट पाटी कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले नेकपा (एमाले) सँगको नयाँ सत्ता सहकार्यप्रति तिखो असन्तुष्टि व्यक्त गरेका छन् । नेता राईले एमालेसँगको गठबन्धनलाई न्यायोचित नभएको र बाध्यताको उपज भएको टिप्पणी गरेका हुन् ।
राईले कोशी प्रदेशमा एमालेलाई नै पुनः मुख्यमन्त्री स्वीकार गर्ने निर्णयले कार्यकर्ताहरूमा निराशा छाएको बताए । ‘चित्तबुझ्दो निर्णय त भएको छैन, तर के गर्ने ? मान्नैपर्ने अवस्था छ,’ राईले भने, ‘सहकार्य भनेपछि आलोपालो हुनुपर्ने हो । एमालेले पाँच पटक बजेट ल्याइसक्यो, उनीहरूको पालो पुगिसकेको थियो। अब कम्तीमा डेढ वर्ष हाम्रो पालो आउनुपर्ने हो, तर त्यसो हुन सकेन ।’
पूर्व मुख्यमन्त्री राईले एमालेसँगको सहकार्यप्रति भुइँ तहका कार्यकर्ताहरूमा ठूलो आक्रोश रहेको समेत बताए । उनले भने, ‘एमालेसँगको सहकार्य अहिले नै गर्नु हुँदैनथ्यो भन्ने कार्यकर्ताको भनाइ छ । एमाले अहिले बदनाम छ र जनताको आक्रोशको निसानामा छ । हिजो हामीलाई धोका दिएको इतिहास पनि छ, त्यसैले तलैसम्म हाम्रो सम्बन्ध राम्रो छैन ।’
सहकार्यको आवश्यकताका बारेमा प्रस्ट पार्दै उनले प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउनका लागि मात्र यो निर्णय गरिएको बताए । ‘सहकार्यमा नजाँदा प्रदेश फेरि मध्यावधिमा जानुपर्ने अवस्था आउँथ्यो । सरकारै नबन्ने भएपछि कि त कांग्रेससँग जोडिनुपथ्र्यो कि एमालेसँग। त्यसैले यो सहकार्य हाम्रो रहर नभई बाध्यता हो,’ उनले थपे ।
संवादका क्रममा राईले अहिलेको सहमतिमा दुईवटा मुख्य गुनासा रहेको बताए । पहिलो, एमालेसँग सहकार्य नै गर्नु हुँदैनथ्यो भन्ने र दोस्रो, सहकार्य गर्दा पनि सधैँ एमालेलाई मात्र मुख्यमन्त्री बनाउने निर्णय अन्यायपूर्ण भयो भन्ने ।
नेकपाका अरु नेताहरुले पनि एमालेलाई मुख्यमन्त्री छाडेकोमा रुष्ट छन् । नेकपा कोशीका सासद गाणेश उप्रेति समाजिक संजालमा लेख्छन ‘कमरेड प्रचण्ड हामी सधै हजुरको आदेश, निर्देशन , बिचार र भावनाको पक्षमा ! तर यो पटक सरकारमा कि त नजाने कुरा हुदा कै आपत्ति थिएन । जाने हुदा कोशी ( १ नम्बर ) नेकपाको हुनु पर्ने हो !!! अलिक मिलेन जस्तो लागो कमरेड !!’
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।