लोड हुँदैछ...

मेनु

धनकुटामा नेकपाको २५१ सदस्यीय जिल्ला समिति घोषणा

धनकुटामा नेकपाको २५१ सदस्यीय जिल्ला समिति घोषणा

धनकुटा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति धनकुटाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २५१ सदस्यीय जिल्ला समिति घोषणा गर्दै नवनिर्वाचित सदस्यलाई सपथ गराइएको छ।

कार्यक्रममा नेकपाका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै प्रदेश सहइन्चार्ज परशुराम बस्नेत, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सहइन्चार्ज विष्णुमाया कन्दङवा, आरपी बास्तोला, हेमचन्द्र किरातीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज राजेन्द्र राईले संघीय संविधानले जनताका अधिकार सुनिश्चित गरे पनि वर्तमान सरकारले लोकतन्त्रका मूल्य र मान्यताको रक्षा गर्न नसकेको आरोप लगाए। बहुमतको आडमा संघीयता कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै उनले प्रदेश र स्थानीय तहलाई सशक्त बनाउन समान विचार भएका वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताए।

उनले प्रदेश सरकारलाई अस्थिर हुन नदिन कोशी प्रदेशमा नेकपाको नेतृत्वमा सरकार गठनको आवश्यकता महसुस हुन थालेको पनि बताए।

प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले प्रदेश र स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले संघीय संरचनालाई कमजोर बनाउन नहुने बताए। संघ, प्रदेश र स्थानीय तह संघीय संविधानका आधारभूत खम्बा भएको उल्लेख गर्दै उनले प्रदेशको संरचना मजबुत बनाउन धनकुटाबाट पार्टीलाई जनमत दिलाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक कुसुम श्रेष्ठ ‘जुली’ले गरेकी थिइन् भने सञ्चालन ओमप्रकाश निरौलाले गरेका थिए। बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णयसमेत गरेको जनाएको छ।

प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतका अनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दश वामपन्थी घटकबीच २०८२ कात्तिक १९ गते एकीकरण भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल रहने तथा चुनाव चिह्न ‘तारा’ रहने सहमतिअनुसार गठन भएको पार्टीले संगठन सुदृढीकरण र एकताको सन्देश जनस्तरसम्म पुर्‍याउने उद्देश्यले जिल्ला तहमा एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए।

उनका अनुसार केन्द्रीय समितिले पार्टी नियमावली तथा आचारसंहिता–२०८३ जारी गरिसकेको छ भने हाल अनलाइनमार्फत सदस्यता नवीकरण तथा वितरणको काम पनि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।