विराटनगर । साउन महिनाको पहिलो सोमबारका अवसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
भगवान् शिवको पूजा–आराधना, जलाभिषेक र दर्शनका लागि श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका हुन्।
राजधानीस्थित पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खोलिएसँगै दर्शनार्थीको भीड लागेको छ। साउने झरीको समेत पर्वाह नगरी भक्तजन जलाभिषेक र दर्शनका लागि पुगेका छन्। दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न सामाजिक र धार्मिक संस्थाको परिचालन गरिएको छ।
झापामा पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारास्थित जलेश्वरधाम, बाह्रदशी गाउँपालिकाको साधुकुटी कञ्चनगढ, सताक्षीधाम तथा जिल्लाका अन्य शिवालयमा पनि बिहानैदेखि श्रद्धालुको उल्लेख्य भीड देखिएको छ। भक्तजनले शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र फूल अर्पण गर्दै पूजा–आराधना गरेका छन्।
पूर्वको जलेश्वरधामका रूपमा परिचित अर्जुनधारामा झापाका साथै मोरङ, इलाम, सुनसरी तथा भारतका सीमावर्ती क्षेत्रबाट पनि भक्तजन दर्शनका लागि पुगेका छन्। सताक्षीधाम र साधुकुटी कञ्चनगढमा पनि बिहानदेखि लामो लाइन लागेको छ।
हिन्दू धर्मावलम्बीहरू साउन महिनाका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। यस दिन व्रत बसेर शिवलिङ्गमा जलाभिषेक र बेलपत्र अर्पण गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यस अवसरमा प्रशासनले मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पार्दै श्रद्धालुलाई व्यवस्थित रूपमा दर्शन र पूजा–आराधना गर्न आग्रह गरेको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।