लोड हुँदैछ...

मेनु

विराटनगर नाकाबाट ५० अर्बको भटमास तेल निर्यात, जुत्ता र धागोको व्यापार पनि उत्साहजनक

विराटनगर नाकाबाट ५० अर्बको भटमास तेल निर्यात, जुत्ता र धागोको व्यापार पनि उत्साहजनक

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थानमा कायम रहेको छ । आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क अनुसार यस नाकाबाट ४९ अर्ब ९८ करोड ८४ लाख रुपियाँ बराबरको २२ करोड ५४ लाख ६५ हजार ४७० केजी प्रशोधित भटमासको तेल निर्यात भएको छ ।

भन्सार कार्यालयको वार्षिक प्रगति प्रतिवेदन अनुसार निर्याततर्फ भटमासको तेलपछि सिन्थेटिक यार्न (धागो) र जुटजन्य सामग्रीको हिस्सा मुख्य देखिएको छ । दोस्रो स्थानमा रहेको सिन्थेटिक यार्न ८ अर्ब २३ करोड रुपियाँको निर्यात भएको छ भने ७ अर्ब २६ करोड रुपियाँ बराबरको जुटको बोरा निर्यात भएका छन् । यसैगरी, २ अर्ब ७४ करोडको जुटको झोला, २ अर्ब ५१ करोडको जुटको कपडा, १ अर्ब ६९ करोडको भेनीयर सीट र १ अर्ब ६६ करोडको प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ । पछिल्लो समय चर्चामा रहेको नेपाली ‘स्पोर्टस् शु’ को निर्यात १ अर्ब ४० करोड पुगेको छ भने तामाको पाता १ अर्ब २८ करोड र चाउचाउ तथा पास्ता १ अर्ब १ करोड रुपियाँको निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

आयाततर्फ भने कच्चा पदार्थ र इन्धनको वर्चस्व रहेको छ । सबैभन्दा बढी राजस्व योगदान गर्ने वस्तुहरूमा कच्चा भटमासको तेल, पोलिथिन दाना, एलपी ग्यास, एचआर सिट र कपर वायर रहेका छन् । कच्चा भटमासको तेलको आयातबाट मात्रै सरकारले वार्षिक २ अर्ब ६० करोड रुपियाँ राजस्व संकलन गरेको छ । असार महिनामा मात्रै ४ अर्ब ५२ करोड रुपियाँको कच्चा तेल आयात भएको तथ्याङ्क छ ।

राजस्व संकलनको लक्ष्यमा भने भन्सार कार्यालय केही पछि परेको देखिन्छ । आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित ४१ अर्ब ३४ करोड ८० लाख रुपियाँको लक्ष्यमा ८५.५६ प्रतिशत अर्थात् ३५ अर्ब ३७ करोड ६७ लाख रुपियाँ मात्र असुली भएको छ । असार महिनामा ३ अर्ब ५९ करोडको लक्ष्य राखिएकोमा ८३.६४ प्रतिशत प्रगति हासिल गर्दै ३ अर्ब २ करोड ५७ लाख रुपियाँ राजस्व उठेको छ ।

व्यापार सन्तुलनको पाटो हेर्दा विराटनगर नाकामा अझै पनि ठुलो व्यापार घाटा कायम छ । वर्षभरिमा २ खर्ब ४१ अर्ब ६५ करोड ९९ लाख रुपियाँको आयात हुँदा निर्यात ८८ अर्ब ७२ करोड ८४ लाख रुपियाँमा खुम्चिएको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा व्यापार घाटामा केही सुधार देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालू आवमा वैदेशिक व्यापारको आकार बढेको छ । गत वर्षको तुलनामा आयात १६ प्रतिशतले बढेर २ खर्ब ४१ अर्ब पुगेको छ भने निर्याततर्फ २० प्रतिशतको वृद्धि भई ८ अर्ब ८७ करोड पुगेको छ । समग्र व्यापार १७ प्रतिशतले बढे पनि राजस्व असुलीको लक्ष्य भेटाउन भने कार्यालयलाई चुनौतीपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।