लोड हुँदैछ...

मेनु

एसियन हाइबेको काम तीब्र, १६.५ किलोमिटरमा पहिलो तहको कालोपत्रे

एसियन हाइबेको काम तीब्र, १६.५ किलोमिटरमा पहिलो तहको कालोपत्रे

विराटनगर । एसियन हाइबेको रुपमा चिनिने पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक विस्तारको काम तीब्र बनेको छ ।

एसियाली विकास बैंकको ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको आयोजनाको पूर्वी खण्डमा कालोपत्रको काम भइरहेको छ ।

काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड)का प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी खण्डमा हालसम्म १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भएको छ। मौसमले साथ दिए दैनिक ४ सयदेखि ८ सय मिटरसम्म कालोपत्र गर्नेगरि काम भइरहेको उनले बताउ ।

निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैंसम्म थप १५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । वर्षायामका कारण केही अवरोध भए पनि निर्माण कार्य भने निरन्तर जारी रहेको उनले बताए।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ। आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ।

पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर र पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक पर्छ। आयोजनाको पछिल्लो प्रगति विवरणअनुसार पहिलो प्याकेज काँकरभिट्टा–सीतापुरीमा ४७ प्रतिशत, दोस्रो प्याकेज सीतापुरी–गोठगाउँमा ४२ प्रतिशत र तेस्रो प्याकेज गोठगाउँ–लबीपुरमा १९ प्रतिशत भौतिक प्रगति भएको छ।

विसं २०८० माघदेखि सुरु भएको आयोजनाको काम २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाअन्तर्गत सडकको बीचमा तीन मिटर चौडाइको डिभाइडर निर्माणसँगै दुवैतर्फ सडक विस्तारको काम समानान्तर रूपमा अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds