विराटनगर । झापामा प्रहरीले एकै दिन सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ४४ ग्रामभन्दा बढी ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरेको छ। घटनामा दुई जना पक्राउ परेका छन् भने एक मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति फरार भएका छन्।
प्रहरीका अनुसार भद्रपुर नगरपालिका–५ मेचीबारीमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई संयुक्त प्रहरी टोलीले शंकाका आधारमा जाँच गरेको थियो। जाँचका क्रममा उनले मुखभित्र प्लास्टिकको पोका बनाएर लुकाइछिपाइ ल्याएको २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। खानलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
त्यसैगरी, झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्तीमा सशस्त्र प्रहरीको टोलीलाई देखेपछि भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०२–०६० प १७९३ नम्बरको मोटरसाइकल छाडेर चालक र पछाडि सवार व्यक्ति भारततर्फ फरार भएका छन्।
प्रहरीले मोटरसाइकल खानतलासी गर्दा ३६ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र डेक्स्ट्रोमेथोर्फान हाइड्रोब्रोमाइड एन्ड क्लोरफेनिरामिन मेलिएट सिरपका १९ बोतल बरामद गरेको जनाएको छ। बरामद मोटरसाइकल र लागुऔषध जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ। फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, मेचीनगर नगरपालिका–६ स्थित पिङ्की ठ्याक क्षेत्रमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालयका २१ वर्षीय विवेक जवेगुलाई पक्राउ गरेको छ। उनको साथबाट ६ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
तीनवटै घटनामा बरामद लागुऔषध र सवारीसाधन तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँच थप कडाइ गरिएको पनि प्रहरीले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।