लोड हुँदैछ...

मेनु

केन्द्रको हस्तक्षेपले प्रदेश सरकारमा अस्थिरता बढ्यो: मन्त्री पराजुली

केन्द्रको हस्तक्षेपले प्रदेश सरकारमा अस्थिरता बढ्यो: मन्त्री पराजुली

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकारको नेतृत्व र निर्णय प्रक्रियामा संघीय नेतृत्वको हस्तक्षेपका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन्।

इटहरीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले प्रदेश सरकारलाई निर्णय गर्ने स्वायत्तता नदिँदा संघीयताको मूल मर्म नै कमजोर भइरहेको बताए।

प्रदेश सरकार गठन र नेतृत्व परिवर्तनको निर्णय अझै पनि संघीय तहबाटै हुने गरेको भन्दै उनले असन्तुष्टि जनाए।

‘अहिले पनि प्रदेश सरकार बन्ने निर्णय संघीय नेतृत्व तहले गरिरहेको छ। प्रदेश सरकारले आफ्नो काम आफैं गर्न पाइरहेको छैन। यो सरकार आफ्नै खुट्टामा उभिन नसकेको भान जनतामा परेको छ,’ उनले भने।

कोशी प्रदेशको निर्णय कोशीकै नेतृत्वलाई र मधेश प्रदेशको निर्णय मधेशकै नेतृत्वलाई गर्न दिनुपर्ने उनको भनाइ थियो।

प्रदेश सरकारको आयु कहिले १५ दिन, कहिले एक महिना त कहिले एक वर्ष मात्र हुने अवस्थाले दीर्घकालीन विकासका लक्ष्य हासिल गर्न नसकिएको उनले बताए।

‘एउटा सरकारले बजेट ल्याउने र त्यो कार्यान्वयन नहुँदै सरकार ढल्ने, अनि अर्को सरकार आएर पूरक बजेट ल्याउने परिपाटीले समस्या निम्तिएको छ,’ उनले भने।

राजनीतिक अस्थिरताका कारण जनतामा प्रदेश सरकारप्रति वितृष्णा बढ्ने खतरा रहेको पराजुलीले बताए।

संघीयतालाई बलियो बनाउन संघीय सरकारले आवश्यक कानुन निर्माणलाई तीव्रता दिनुपर्ने र प्रदेशलाई आफ्ना निर्णय आफैं गर्ने अधिकार दिनुपर्ने उनले माग गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds