लोड हुँदैछ...

मेनु

सिटी सफारी चालकलाई क्यूआर कोडसहित ‘सुरक्षित चालक’ पोशाक वितरण

सिटी सफारी चालकलाई क्यूआर कोडसहित ‘सुरक्षित चालक’ पोशाक वितरण

विराटनगर । सिटी सफारी (ई–रिक्सा) सञ्चालनलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार बनाउन नेपाल प्रहरीले इटहरीका चालकहरूलाई क्यूआर कोडसहितको ‘सुरक्षित चालक पोशाक’ वितरण गरेको छ।

अभियानले चालकको पहिचान व्यवस्थापन, सेवा प्रवाहमा पारदर्शिता र यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सञ्चालन गरेको “सुरक्षित चालक अभियान” अन्तर्गत इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त ई–रिक्सा चालकहरूलाई उक्त पोशाक वितरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी घिमिरेले सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक अनुशासन र सडक सुरक्षाको महत्व अझ बढेको उल्लेख गरे। उनले ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवार र अनुशासित ढंगले सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गरे।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले अभियानको उद्देश्य र सुरक्षित चालक पोशाकको महत्वबारे जानकारी गराएका थिए।

त्यस अवसरमा नेपाल यातायात महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका राम खेलौन चौधरी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, इटहरी–५ का वडाध्यक्ष दिवस पोख्रेल तथा ई–रिक्सा छाता संगठन इटहरीका अध्यक्ष कुमार तामाङले अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयालले सुरक्षित यात्राका लागि चालकको पहिचान र उत्तरदायित्व सुनिश्चित गर्ने यस्तो अभियान प्रभावकारी हुने बताए।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी, विशेष सुरक्षा गण दुहवी, ट्राफिक प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुखहरू, यातायात व्यवस्था कार्यालय इटहरीका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा ठूलो संख्यामा ई–रिक्सा चालकहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।