विराटनगर । नेपालभाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएका गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन् ।
नेपालभाषा तथा सांस्कृतिक संघ झीपुचः विराटनगरले आयोजना गरेको विशेष समारोहमा लाछिलाई दुई लाख रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरिएको हो।
समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी कपिला श्रेष्ठको नाममा स्थापना गरिएको ‘सुदर्शन–कपिला ट्रष्ट’मार्फत नेपालभाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई यो सम्मान प्रदान गरिँदै आएको छ। कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत रहेका भीम पराजुलीले दोसल्ला ओढाएर नगद दुई लाख रुपैयाँ र सम्मानपत्र प्रदान गर्दै लाछिको योगदानको प्रशंसा गरे।
समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको देश भएको उल्लेख गरे। विभिन्न जातजातिको भाषा, संस्कृति, कला र परम्पराले नेपालको पहिचानलाई समृद्ध बनाएको बताउँदै उनले यस्ता मौलिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकारी तथा सामाजिक संस्थाहरूले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए।
संघका अध्यक्ष शरद श्रेष्ठ ले गणेशराम लाछिले नेपालभाषा, नेवारी कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा दीर्घकालदेखि निरन्तर योगदान दिँदै आएकाले उनलाई सम्मान गरिएको जानकारी दिए। उनका अनुसार ‘सुदर्शन–कपिला सिरपा’ सम्मान हरेक दुई वर्षमा एकपटक प्रदान गरिन्छ।
यसअघि उक्त सम्मान सत्यमोहन जोशी, भारतको सिक्किमस्थित नेवार गुठी तथा पोखरास्थित नेवा खल कास्कीलाई प्रदान गरिएको थियो। समारोहमा दबुली नेपालका अध्यक्ष सन्तोष प्रजापति, संस्कृतिविद सूर्यनारायण प्रधान, झीपुचःका संरक्षक राजन श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष हरिबहादुर श्रेष्ठ र भविसकुमार श्रेष्ठ, ट्रष्टका प्रवक्ता तथा झीपुचःका वरिष्ठ उपाध्यक्ष सुरेशलाल श्रेष्ठ लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रमकै अवसरमा लेखक दिनेश श्रेष्ठ सहितको सम्पादनमा तयार गरिएको स्मारिकाको विमोचन पनि गरिएको थियो। उक्त स्मारिकामा नेपालभाषा, नेवारी संस्कृति, कला र परम्परासम्बन्धी विभिन्न अनुसन्धानात्मक तथा सिर्जनात्मक सामग्री समेटिएको आयोजकले जनाएको छ।
समारोहलाई सांस्कृतिक रूपमा समृद्ध बनाउन कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकार सृविका गुभाजु ले प्रस्तुत गरेको चरिया नृत्यले दर्शकको विशेष ध्यान आकर्षित गरेको थियो। नेपालभाषा तथा सांस्कृतिक संघ झीपुचः विराटनगरले विगतदेखि नै नेवारी भाषा, कला, संस्कृति तथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।