लोड हुँदैछ...

मेनु

किचकबध उत्खनन् : २२ सय वर्ष पुरानो दरबारका संरचना फेला

किचकबध उत्खनन् : २२ सय वर्ष पुरानो दरबारका संरचना फेला

विर्तामोड । झापाको भद्रपुर नगरपालिका–२ स्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको किचकबध क्षेत्रमा गरिएको नवौं चरणको उत्खननबाट ९ वटा दरबारका संरचना फेला परेका छन्।

करिब २२ सय वर्ष पुरानो मानिएको सो क्षेत्रको थप उत्खननसँगै यसको ऐतिहासिक महत्व अझ पुष्टि हुँदै गएको पुरातत्वविद्हरूले बताएका छन्।

पुरातत्व विभागको आर्थिक सहयोगमा जेठ ८ गतेदेखि सुरु भएको नवौं चरणको उत्खनन जेठ २९ गते सम्पन्न भएको हो। वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा भएको उत्खननमा प्रमुख पुरातत्व अधिकृत नवराज अधिकारी र फोटोग्राफर रामचन्द्र श्रेष्ठ सहभागी थिए। यस वर्ष संघीय सरकारबाट प्राप्त १० लाख रुपैयाँ बजेटमा उत्खनन सम्पन्न गरिएको हो।

करिब १० बिघा क्षेत्रफलमा फैलिएको किचकबध क्षेत्रमा २०३५ सालदेखि उत्खनन सुरु भएको थियो। पुरातत्व विभागले २०५८ सालदेखि नियमित उत्खनन गर्दै आएको छ भने द्वन्द्वकालबाहेक हरेक वर्ष अनुसन्धान जारी छ।

यसपटक फेला परेका इँटाहरू गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा भेटिएका इँटासँग मिल्दोजुल्दो रहेको पुरातत्वविद् आचार्यले बताए। हालसम्म दरबारका संरचना, सुरक्षा पोष्ट, पर्खाल, तबेला, कम्पाउण्ड, भाला र बाणजस्ता युद्ध सामग्री, माटाका भाँडावर्तन तथा पुराना इँटाका अवशेष फेला परिसकेका छन्।

कार्बन परीक्षणका आधारमा यी संरचनाहरू करिब २२ देखि २३ सय वर्ष पुराना रहेको अनुमान गरिएको छ। त्यो समय भारतमा शुङ्ग–कुषाण काल चलिरहेको मानिन्छ।

भद्रपुर–२ का वडाध्यक्ष रामबहादुर कँडेलले किचकबध सम्पूर्ण देशको सभ्यता र इतिहाससँग जोडिएको स्थल भएको बताए। नगर प्रमुख गणेश पोखरेलले प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर दीर्घकालीन गुरुयोजना निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए।

पुरातत्वविद् आचार्यका अनुसार सीमित बजेटका कारण उत्खनन कार्य टुक्राटुक्रा रूपमा सञ्चालन भइरहेको छ। संरक्षण, अनुसन्धान र पर्यटकीय विकासका लागि किचकबधलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

महाभारतकालीन पात्र किचकसँग जोडिएको जनविश्वासका कारण यस क्षेत्रको नाम किचकबध रहन गएको मानिन्छ। पाण्डवहरूको गुप्तवासका क्रममा द्रौपदीमाथि कुदृष्टि राखेका किचकलाई भीमसेनले यही क्षेत्रमा वध गरेको किंवदन्ती स्थानीय समाजमा प्रचलित छ।

इतिहास, पुरातत्व र धार्मिक विश्वासको संगमस्थल मानिने किचकबध क्षेत्रलाई व्यवस्थित संरक्षण र विकास गर्न सके कोशी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने विज्ञहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।