लोड हुँदैछ...

मेनु

फाल्गुनन्दको प्रतिमा स्थापना भएपछि गुराँसे माङहिम धार्मिक पर्यटनको केन्द्र बन्दै

फाल्गुनन्दको प्रतिमा स्थापना भएपछि गुराँसे माङहिम धार्मिक पर्यटनको केन्द्र बन्दै

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माणाधीन आत्मा पवित्र गुराँसे माङहिम धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ। मेची राजमार्ग नजिकै रहेको आकर्षक स्थानमा स्थानीय सामग्री प्रयोग गरेर निर्माण भइरहेको माङहिम, अग्निकुण्ड र अन्य संरचनाहरू अन्तिम चरणमा पुगेका छन्।

यसै साता इलामको माङ्सेबुङबाट ल्याइएको सोह्रौँ राष्ट्रराष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको साढे सात फिट अग्लो प्रतिमा स्थापना गरिएसँगै गुराँसे माङहिमको महत्व थप बढेको छ। एउटै ढुङ्गा कुँदेर बनाइएको उक्त प्रतिमा वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आज्ञाअनुसार स्थापना गरिएको हो। प्रतिमा निर्माणमा १५ लाख रुपैयाँ र स्थापना गर्न थप तीन लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष गणेशप्रसाद योङहाङले बताए।

आठ रोपनी क्षेत्रफलमा फैलिएको माङहिम परिसरमा स्थानीय विशेष प्रकारका ढुङ्गा काटेर संरचना निर्माण गरिएको छ। यही कारण निर्माण कार्यमा समय र लागत दुवै बढेको छ। विसं २०७३ सालमा साविक भारपा गाविसले २५ हजार रुपैयाँ बजेट विनियोजन गरेपछि सुरु भएको माङहिम निर्माणमा हालसम्म करिब एक करोड रुपैयाँ खर्च भइसकेको छ। कुल एक करोड ५० लाख रुपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएकाले थप लगानी आवश्यक रहेको जनाइएको छ।

माङहिम निर्माणका लागि स्थानीय काजीमान योङहाङका छोरा कविन्द्र योङहाङले चार रोपनी, राजकुमार योङहाङले चार रोपनी र श्रीप्रसाद योङहाङले आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए। माङहिमको भित्री संरचना, सिँढीमार्ग, घेराबारा र ढलानको काम भने अझै बाँकी रहेको वडाध्यक्ष योङहाङले बताए।

माङहिम नजिकै लिम्बुवानका अन्तिम राजा हिलिहाङका फौज बस्ने ऐतिहासिक स्थल ‘पुलुथुम्की’ समेत रहेकाले सम्पूर्ण क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

निर्माणका लागि आवश्यक अधिकांश रकम विभिन्न संघसंस्था, दानवीर व्यक्तित्व तथा विदेशमा रहेका नेपाली र वैदेशिक रोजगारीमा गएका नागरिकको सहयोगबाट जुटाइएको हो। हिलिहाङ गाउँपालिकाले पनि आवश्यक लगानी गर्दै आएको छ। अब वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रहाङ्मा लिङ्देनबाट महागुरु फाल्गुनन्दको प्रतिमा अनावरणसहित माङहिमको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको छ।

गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले स्थानीय तहले सक्दो लगानी गरिरहेको भए पनि प्रदेश र संघीय सरकारबाट अपेक्षित सहयोग नपाउँदा योजनाअनुसार संरचना निर्माणको कामले गति लिन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds