धरान । हिन्दु धर्मावलम्बीहरूले सुनसरीस्थित कोकाहा खोलामा शुक्रबार त्रिपिंडी श्राद्ध गरेका छन्।
अकालमा मृत्यु भएका तथा दशगात्र कर्म गर्न नपाएका आफन्तहरूको आत्माको चिरशान्तिको कामना गर्दै परम्पराअनुसार यस वर्ष पनि सयौँ श्रद्धालु सहभागी भएका हुन्।
धनकुटा, सुनसरी र तेह्रथुम जिल्लाबाट बिहानैदेखि श्रद्धालुहरू नदी किनारमा भेला भई तर्पण र पिण्डदान गरेका थिए। धार्मिक विधिअनुसार जौ, तिल र चामलको पिठोबाट पिण्ड तयार गरी कुश, तिल र जलसहित मन्त्र उच्चारण गरेर श्राद्ध सम्पन्न गरिएको थियो।
धनकुटाको महालक्ष्मीका पुरोहित लक्ष्मण सुवेदीका अनुसार मृतकको दोष निवारण तथा आत्माको शान्तिका लागि त्रिपिंडी श्राद्ध गर्ने प्रचलन रहेको छ। उनका अनुसार लडी मरेका, झुन्डी मरेका वा अन्य असामान्य मृत्यु भएकाहरूका लागि विशेष रूपमा यो श्राद्ध गरिन्छ, जसबाट ज्ञात–अज्ञात आत्माले दुःख नदिउन् भन्ने धार्मिक विश्वास छ।
त्यस्तै मोरङको केरौनका पुरोहित भवानी सुवेदीले पितृहरू सन्तुष्ट भए परिवारमा सुख, शान्ति र समृद्धि आउने जनविश्वास रहेको बताए। कार्तिक, मंसिर, पुस, माघ र फागुन महिनामा विशेष रूपमा त्रिपिंडी श्राद्ध गर्ने चलन रहेको छ।
विशेषगरी पञ्चमी, अष्टमी र एकादशी तिथिमा कोकाहा खोलामै यस्तो अनुष्ठान गर्ने परम्परा कायम रहँदै आएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।