काठमाडौँ । स्वदेशमा अपराध गरी विदेश भागेका १० जना फरार प्रतिवादीहरूलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ। चालु आर्थिक वर्षमा रेड नोटिस र डिफ्युजन जारी भएका ती प्रतिवादीहरूलाई विभिन्न देशबाट पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेका अनुसार चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी गरिएको थियो। जसमध्ये रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा पक्राउ गरी स्वदेश फिर्ता ल्याइएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा फरार प्रतिवादी पक्राउ गर्ने प्रक्रियालाई प्रहरीले थप तीव्रता दिएको छ। अघिल्लो वर्ष ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस र तीन जना डिफ्युजन जारी भएका गरी कुल २० जनालाई नेपाल ल्याइएको थियो।
फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो ९एनसीबी० ले इन्टरपोल महासचिवालयसँग समन्वय गर्दै आएको छ। प्रवक्ता काफ्लेले अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि अपराधीहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव प्रतिबद्ध र क्रियाशील रहेको बताउनुभयो। उहाँका अनुसार मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न र अपराध नियन्त्रणका लागि प्रहरीले विभिन्न सुरक्षा रणनीतिहरू अवलम्बन गरिरहेको छ।
इन्टरपोलसँगको यो प्रभावकारी समन्वयले अपराधीहरू विदेश भागेर उम्कन पाउँदैनन् भन्ने सन्देश दिएको प्रहरीको भनाइ छ। कार्यक्षेत्रमा खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरूलाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुद्दाको अनुसन्धानका लागि बुझाउने तयारी गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।