लोड हुँदैछ...

मेनु

स्वदेशी उत्पादनमा ‘फहद एपरेल्स’ को फड्को : विराटनगरमा दोस्रो शाखा विस्तार

स्वदेशी उत्पादनमा ‘फहद एपरेल्स’ को फड्को : विराटनगरमा दोस्रो शाखा विस्तार

विराटनगर । विराटनगरका युवा उद्यमी एमडी नसरुलले गार्मेन्ट व्यवसायमा आफ्नो उपस्थिति बलियो बनाउँदै ‘फहद एपरेल्स’ को दोस्रो शाखा विस्तार गरेका छन् ।

विराटनगर–६ शनि मन्दिर अगाडि एनसेल भवनको दोस्रो तलामा कम्पनीको नयाँ शाखा बिहीबारदेखि सञ्चालनमा आएको हो ।

नयाँ शाखाको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले गरिन् । त्यस अवसरमा उनले परनिर्भरता घटाउन स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताइन् । ‘स्वदेशी कच्चा पदार्थ र श्रमको प्रयोग गरी उद्यमीहरू आत्मनिर्भर बन्नु खुसीको कुरा हो,’ उपप्रमुख कार्कीले भनिन्, ‘स्थानीय उद्योगलाई प्रोत्साहन गर्ने र उनीहरूको बजार प्रवर्द्धनमा सघाउने महानगरको नीति छ । यस्ता उद्योगले सहरको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ ।’

करिब ४० लाख रुपैयाँको लगानीमा विस्तार गरिएको यस गार्मेन्टमा ८० प्रतिशत स्वदेशी कपडा प्रयोग हुने सञ्चालक नसरुलले जानकारी दिए । यहाँ सबै उमेर समूहका लागि आवश्यक तयारी पोसाकहरू उत्पादन र बिक्री गरिन्छ ।

उद्यमी नसरुलका अनुसार पहिलो उद्योगको सफलतापछि माग बढेकाले नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । ‘हाम्रो मुख्य जोड स्वदेशी कपडालाई ब्राण्डिङ गर्नेमा छ,’ उनले भने, ‘नयाँ र पुरानो गरी दुवै उद्योगमार्फत हाल २ सयभन्दा बढी स्थानीयलाई रोजगारी दिन सफल भएका छौँ ।’

स्थानीयस्तरमै रोजगारी सिर्जना र स्वदेशी उत्पादनको प्रवर्द्धनलाई प्राथमिकता दिएको यो उद्योगले विराटनगरमा आफ्नो बजार क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।