लोड हुँदैछ...

मेनु

कार्यकक्षमै सचिवले गरे मन्त्रीको अपमान, मुख्यमन्त्रीसँग भने मिलाउँछन् ‘लोलोपोतो’

कार्यकक्षमै सचिवले गरे मन्त्रीको अपमान, मुख्यमन्त्रीसँग भने मिलाउँछन् ‘लोलोपोतो’

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सोमबार मध्यान्ह एउटा अनौठो दृश्य देखियो । जसले प्रदेश सरकारको कार्यशैली र राजनीतिक–प्रशासनिक समन्वयको कमजोर व्यवस्थापनको कुरुप दृश्य छर्लङ्ग मात्र पारेको छैन, कर्मचारीतन्त्रले जनप्रतिनिधिहरुलाई कसरी अपमान गर्दछन् भन्ने वास्तविकता समेत उदाङ्गो बनाइदिएको छ ।

मन्त्री र कर्मचारीतन्त्रबीचको बढ्दो अविश्वास र सचिवहरूको बढ्दो अहङ्कारका कारण प्रदेशका नीतिगत निर्णयहरू मात्र होइन, विकास बजेटसमेत महिनौंदेखि कार्यान्वयन हुन सकेको छैन ।

सोमबारको घटनाले मन्त्रालयभित्र मन्त्रीभन्दा सचिव शक्तिशाली र अराजक भएको पुष्टि गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्कालगायत त्यहाँ पुगेका केही सञ्चारकर्मीहरु र मन्त्रीका सचिवालयका केही सदस्यहरुसँग कुराकानी गर्दै थिए । त्यसैबेला मन्त्रीको कार्यकक्षमा प्रवेश गरे मन्त्रालयका सचिव आशमान तामाङ ।

सचिव तामाङले महासंघका अध्यक्ष भरत खड्कालाई देखेपछि पत्रकारिता क्षेत्रको उठाउन पर्ने विषय के के छन् भनेर सोधे । अध्यक्ष खड्का अलमलिए । किनभने उनले कहाँ कुन सन्दर्भमा उठाउन खोजेका हुन्, बजेट निर्माणका लागि हो वा अरु के हो भन्ने विषय अध्यक्षले बुझेनन् । अचानक विषय मागेपछि अन्य पत्रकारहरुले सहजीकरण गर्दै केही मुद्दाहरुका बारेमा जानकारी दिइयो । सञ्चार प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नहुँदा रेडियोहरूको नवीकरण रोकिएको, राज्यले करिब २ करोड राजस्व गुमाउनु परेको र पत्रकारहरूको बिमा कार्यक्रम अलपत्र परेको जस्ता गम्भीर विषयहरु छन् तर कुन सन्दर्भमा भन्ने प्रश्न गरेपछि सचिव तामाङले समितिको बैठकमा बोलाएका छन् त्यहाँ विषय राख्नुपर्ने छ भन्ने जवाफ दिए ।

त्यसैक्रममा अध्यक्ष खड्काले सरकारको विज्ञापन नीतिको समस्याले प्रदेशका मिडिया चल्नै नसक्ने अवस्थामा पुगेका छन् भन्ने जानकारी दिए । त्यसको जवाफमा सचिव तामाङले जसरी प्रतिक्रिया दिए, त्यो आपत्तिजनक मात्र थिएन सबलाई स्तब्ध नै बनायो । पत्रकारका समस्या सुन्नुको साटो उनले निकै गैरजिम्मेवार र अपमानजनक ढंगले ती विषयलाई ‘यो त आलु कुरा भयो’ भनिदिए ।

मन्त्रीको अगाडि उभिएर सचिवले ‘यस्तो आलु कुरा भयो !’ भन्दै पत्रकार महासंघका अध्यक्षलाई अपमान गरेपछि उनले मन्त्रीलाई कसरी व्यवहार गरिरहेका होलान् भन्ने सबैले महशुस गरे । त्यसै क्रममा अर्का पत्रकारले सरकारले बनाएको योजना र कार्यक्रम सरकारले नै समयमा अघि नबढाउने र काम नगर्नुपर्ने किन हुन्छ ? भनेर मन्त्री पराजुलीलाई प्रश्न गरे । मन्त्री पराजुलीले ‘हाम्रो देशमा सरकार र मन्त्रीभन्दा कर्मचारी बलिया छन्,’ भन्ने जवाफ दिए । मन्त्री पराजुलीको भनाइ भुँइमा झर्न नपाउँदै सचिव आक्रोशित हुँदै बोले, ‘हो त, त्यही हो, यो ट्रान्जिसनल फेजमा यस्तै हुन्छ, सरकार भरे हो कि भोलि हो, कहिले हो भन्ने चर्चा चलिरहेको बेला अरु के हुन्छ ? यस्तै हुन्छ ।’

सचिव तामाङको आक्रोश यतिमा मात्र सिमित रहेन । उनले मन्त्रीकै अगाडि वर्तमान सरकारको आयुमाथि प्रश्न उठाउँदै ‘यो ट्रान्जेक्सनको बेलामा कहाँ काम हुन्छ, प्रदेश नै खारेज गर्ने कुरा छ, कार्यक्रम..’ भन्दै बाहिरिए ।

आफ्नै विभागीय मन्त्रीको कार्यकक्षमा, बाहिरी मानिस त्यसमा पनि पत्रकार महासंघ प्रदेशको अध्यक्ष र अरु पत्रकारसमेत भएको ठाउँमा सरकारको अस्तित्व र प्रदेश संरचनाकै औचित्यमाथि प्रश्न उठाउँदै ‘प्रदेश रहन्छ कि रहँदैन’ भन्दै कार्यकक्षबाट बाहिरिएका सचिवले मन्त्रीलाई कतिसम्म हेपेका होलान् अनुमान मात्र गर्न सकिन्छ ।

यो घटना एउटा प्रतिनिधि पात्र मात्र हो । मन्त्रालय स्रोतका अनुसार, सचिव तामाङको यो व्यवहार नयाँ भने होइन । मन्त्रीलाई सार्वजनिक रूपमै हेप्ने र उनका निर्देशनहरूलाई टेरपुच्छर नलगाउने प्रवृत्तिले मन्त्री पराजुली महिनौंदेखि पीडित छन् । तर, अचम्मको कुरा त के छ भने, मन्त्रीलाई कार्यकक्षमै अपमान गर्ने तिनै सचिव मुख्यमन्त्रीको सचिवालयमा पुग्दा भने निकै ‘सिल्पी’ र नम्र देखिन्छन् । मन्त्रीसँग टर्रो र विद्रोही स्वभाव देखाउने सचिवले मुख्यमन्त्रीसँग पुगेर भने सबै कुरा ठिकठाक रहेको भन्दै ‘लोलोपोतो’ घस्ने र आफ्नो दुनो सोझ्याउने गरेको चर्चा मन्त्रालयका कर्मचारीबीच नै चल्ने गरेको छ ।

राजनीतिक व्यक्तित्वहरूले कर्मचारीतन्त्रको यो व्यवहारलाई गम्भीर दुव्र्यवहारको रूपमा महशुस गरेका छन् । सचिवको यस्तो दुईधारे चरित्र— मन्त्रीलाई हेप्ने र मुख्यमन्त्रीलाई रिझाउने ‘कला’— ले गर्दा मन्त्रालयका कयौं महत्वपूर्ण फाइलहरू अड्किएका छन् । कर्मचारीले मन्त्रीलाई असफल बनाउन खोज्दा त्यसको प्रत्यक्ष असर विकास बजेट खर्च र सार्वजनिक सेवा प्रवाहमा परेको छ ।

आफ्नै मातहतको कर्मचारीले मन्त्रीलाई सार्वजनिक रूपमै चुनौती दिँदा र अपमान गर्दा पनि सत्ता समीकरण र प्रशासनिक जटिलताका कारण मन्त्री पराजुलीले मौनता साँध्न विवस देखिन्छन् । यो घटनाले कोशी प्रदेशमा कर्मचारीतन्त्रले कसरी राजनीतिक नेतृत्वलाई ओझेलमा पारेको छ र सरकारका मन्त्रीहरू कसरी आफ्नै सचिवहरूबाट प्रताडित छन् भन्ने एउटा लज्जास्पद घटना उदाङ्गो बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।