विराटनगर । १७ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमा आयोजना हुने भएको छ। काठमाडौंमा जारी १६औं संस्करणको उद्घाटन समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संस्करणको आयोजनाको जिम्मेवारी कोशी प्रदेशलाई हस्तान्तरण गरेका हुन् ।
समारोहमा राष्ट्रपति पौडेलले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोषलाई प्रतियोगिताको झण्डा हस्तान्तरण गरे । यो झण्डा हस्तान्तरणसँगै कोशी प्रदेशमा हुने १७ औं संस्करणको औपचारिक तयारी सुरु भएको छ।
विद्यालय स्तरका खेलाडीहरूको प्रतिभा पहिचान र विकासका लागि नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिने यस प्रतियोगितामा सातै प्रदेशका विद्यालयस्तरीय खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगिताले तल्लो तहदेखि नै खेलकुदको वातावरण सिर्जना गर्न र राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
आयोजनाको जिम्मेवारी पाएपछि कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक पूर्वाधार र तयारीका कामहरूलाई तीव्रता दिने जनाएको छ। देशभरका हजारौं उदीयमान खेलाडीहरू समेटिने यस प्रतियोगिताले कोशी प्रदेशको खेलकुद पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।