विराटनगर । सुनसरीको इटहरीमा लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक युवकलाई ब्राउन सुगर, नगद र जाली नोटसहित पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–१८ पटेर्वा क्षेत्रबाट स्थानीय २३ वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा चौधरीले बोकेको ब्यागभित्र लुकाएर राखिएको अवस्थामा ७ दशमलव ७९ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको छ। साथै उनको साथबाट ४७ हजार ५०० रुपैयाँ नगद र दुई हजार रुपैयाँ बराबरका जाली नोटसमेत फेला परेको प्रहरीले जनाएको छ।
बरामद जाली नोटमध्ये एक हजार रुपैयाँ दरको एक थान र पाँच सय रुपैयाँ दरका दुई थान नोट रहेका छन्।
लागूऔषध, नगद र जाली नोटसहित पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी लागूऔषध तथा जाली नोट सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।