विराटनगर । काठमाडौँमा जारी १६ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिनसम्म कोशी प्रदेशले तीन स्वर्ण पदक हात पारेको छ ।
मार्सल आर्ट्सतर्फका विधामा उत्कृष्ट प्रदर्शन गर्दै कोशीले पदक तालिकामा आफ्नो उत्साहजनक उपस्थिति जनाएको हो ।
बिहीबार साँझसम्मको नतिजाअनुसार कोशीले तेक्वान्दो र करातेमा स्वर्ण जितेको हो । तेक्वान्दोको छात्रा पुम्सेतर्फ यूमी राईले स्वर्ण पदक जितिन् । त्यस्तै, करातेको छात्रा ५० केजी तौल समूहमा प्रनिसा नेपाल र ४५ केजी तौल समूहमा हिरा मगरले स्वर्ण पदक जितेको प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव विप्लव घोषले जानकारी दिए ।
स्वर्णबाहेक कोशीले केही विधामा रजत र कास्य पदक समेत जितेको छ । ‘खेलाडीहरूले निकै मिहिनेत गरेका छन्, जसको परिणाम स्वरूप सुरुवाती चरणमै तीन स्वर्ण सम्भव भएको हो,’ सदस्य सचिव घोषले भने, ‘अझै धेरै प्रतिस्पर्धाहरू बाँकी छन्, पदक संख्या थपिनेमा हामी विश्वस्त छौँ ।’

गत वर्षको तुलनामा सुधारिएको प्रदर्शन
गत वर्षको तुलनामा यसपटक कोशीको प्रदर्शनमा निकै सुधार देखिएको छ । अघिल्लो वर्ष सम्पन्न १५ औं संस्करणमा कोशी प्रदेश स्वर्णविहीन बन्दै पदक तालिकाको सातौँ स्थानमा खुम्चिएको थियो । तत्कालीन सदस्य सचिव पर्शुराम बस्नेतको कार्यकालमा भएको उक्त प्रतियोगितामा प्रदेशका तीन जिल्लाबाट खेलाडी छनौट नै हुन सकेको थिएन ।
यस वर्ष भने प्रदेश खेलकुद विकास बोर्डले विशेष सक्रियता देखाएको छ । प्रतियोगिता हुनुभन्दा पाँच दिन अगावै प्रदेशका १४ वटै जिल्ला समेटेर छनौट प्रक्रिया सम्पन्न गरिएको थियो । प्रदेशस्तरीय छनौटमा १ हजार ७ सय खेलाडी सहभागी भएका थिए । तीमध्येबाट छानिएका ११५ खेलाडी र अफिसियलको टोली यतिबेला काठमाडौँमा प्रतिस्पर्धा गरिरहेको छ ।
समयमै खेलाडी छनौट र बन्द प्रशिक्षणको व्यवस्थापन मिलाइएका कारण यसपटक नतिजा सुधारिएको खेल अधिकारीहरूको दाबी छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।