विराटनगर । मोरङको कटहरी गाउँपालिकाले कृषि कार्यलाई आधुनिकीकरण र सहज बनाउन किसानलाई अनुदानमा खेती जोत्ने उपकरण (मिनी टिलर) वितरण गरेको छ ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिहीबार १३ जना किसान तथा कृषि समूहलाई ती उपकरण हस्तान्तरण गरेको हो ।
गाउँपालिका परिसरमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश सभा सदस्य ललिता चौधरी, गाउँपालिका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीतादेवी चौधरीले संयुक्त रूपमा किसानलाई टिलर उपलब्ध गराएका हुन् । प्रतिउपकरण ७६ हजार रुपैयाँ मूल्य पर्ने मिनी टिलरका लागि किसानले ५० प्रतिशत ३८ हजार रुपैयाँ बेहोरेका छन् भने बाँकी ५० प्रतिशत रकम प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाट मिलाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष देवराज चौधरीका अनुसार वडा नम्बर ४, ५, ६ र ७ का किसानहरू यसबाट लाभान्वित भएका छन् । ‘कटहरीमा तरकारी र नगदेबालीको खेती गर्ने किसानको संख्या ठूलो छ,’ अध्यक्ष चौधरीले भने, ‘यो उपकरणले किसानलाई श्रम र समय बचत गर्न सघाउनेछ । प्रदेश सरकारको कार्यविधिअनुसार नै कृषि सहकारी, उद्यमी र कृषक समूहलाई प्राथमिकतामा राखेर वितरण गरिएको हो ।’
कृषि शाखा प्रमुख केशवराज काफ्लेले निवेदन आह्वान गरी प्रक्रिया पुगेका किसानहरूलाई छनोट गरिएको जानकारी दिए । उपकरण पाएपछि किसानहरू उत्साहित भएका छन् । ‘आधुनिक मेसिनले खेत जोत्दा छिटो हुनुका साथै लागत पनि कम लाग्छ,’ टिलर प्राप्त गरेका किसानले खुसी व्यक्त गरे ।
गाउँपालिकाले आगामी दिनमा पनि कृषि उत्पादन बढाउन र किसानलाई प्रविधिसँग जोड्न यस्ता अनुदानका कार्यक्रमहरूलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।