लोड हुँदैछ...

मेनु

सेयर बजारमा करेक्सन, नेप्से १३ अंकले घट्यो

सेयर बजारमा करेक्सन, नेप्से १३ अंकले घट्यो

विराटनगर । लगातार दुई कारोबार दिन उकालो लागेको सेयर बजारमा बिहीबार करेक्सन देखिएको छ। लगानीकर्ताको बिक्री दबाब बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको हो।

बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिन ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३५३ कम्पनीको ५१ हजार ६०१ पटकको कारोबारबाट ४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख १७ हजार कित्ता सेयर किनबेच भएको छ।

बिहीबार सेन्सेटिभ इण्डेक्स १.६७ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंकले घटेका छन्। १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमूह राताम्मे बनेका छन्।

सबैभन्दा बढी गिरावट व्यापार उपसमूहमा देखिएको छ, जसको परिसूचक १.७१ प्रतिशतले घट्यो। निर्जीवन बीमा र होटल तथा पर्यटन समूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

बजार घटे पनि केही कम्पनीका सेयरमा भने उत्साहजनक वृद्धि देखिएको छ। कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ८५ रुपैयाँ ९० पैसा बढेर ६५८ रुपैयाँ ८० पैसामा पुगेको छ। न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यता, ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य सबैभन्दा धेरै १०.४८ प्रतिशतले घटेको छ। अन्य कम्पनीहरूको मूल्य गिरावट भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा एभरेष्ट बैंकको अपरिवर्तनीय ऋणपत्र अग्रस्थानमा रह्यो। सो ऋणपत्रको ३४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आँखुखोला जलविद्युत कम्पनीको ३२ करोड रुपैयाँभन्दा बढी र सेन्ट्रल फाइनान्सको १८ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

दुई दिनको वृद्धिपछि बजारमा सामान्य करेक्सन देखिए पनि लगानीकर्ताको सक्रियता कायम रहेको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।