विराटनगर । विराटनगरस्थित शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रले आफ्नो सेवा विस्तार गर्दै आकस्मिक सेवा सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त सेवाको सुरुवात गरेका हुन् ।
कोभिड–१९ को महामारीका बेला संक्रमितको उपचार गर्ने उद्देश्यले २०७६ साल चैत २८ गते स्थापना गरिएको उक्त अस्पतालले पटक पटक नाम र सेवा परिवर्तन गर्दै विशिष्ठ सेवा प्रदान गर्ने उद्देश्य राख्दै आएको थियो । पछिल्लो समय शैलजा आचार्य हृदय रोग उपचार केन्द्र नामकरण गरेर त्यसमा जनरल उपचार थप गरेको थियो । अहिले ५० शैय्याको विशेषज्ञ अस्पतालको रूपमा विकसित भएको उक्त अस्पतालमा बिहीबारबाट आकस्मिक सेवा थप भएको हो ।
सुरुमा कोभिड उपचार केन्द्र, त्यसपछि संक्रामक रोग तथा सघन उपचार केन्द्र र २०८० मा हृदय रोग केन्द्र हुँदै अहिले यो पूर्णकालीन प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा छ ।
अस्पतालले आकस्मिक सेवा सुरु गरे पनि जनशक्तिको अभावका कारण हाललाई दैनिक १२ घण्टा मात्र आकस्मिक सेवा उपलब्ध हुने निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वैभव मल्लिकले जानकारी दिए । अस्पताल प्रशासनका अनुसार, आकस्मिक सेवालाई २४ सै घण्टा सञ्चालन गर्न थप ३ जना मेडिकल अधिकृत, ४ जना पारामेडिक्स, ६ जना ल्याब प्राविधिक र २ जना फार्मेसी जनशक्ति गरी तत्काल १३ जना स्वास्थ्यकर्मी आवश्यक छ ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसाल र स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले जनशक्ति अभावको समस्या समाधान गरी २४ सै घण्टा सेवा दिने वातावरण बनाउन मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अस्पतालमा हाल मुटुरोग, जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, प्रसूति तथा स्त्री रोग र बालरोग विशेषज्ञ सहितको ओपिडी सेवा उपलब्ध छ । अस्पतालले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८२–८३ को वैशाखसम्म १३ हजार ७५१ जनाले ओपिडी सेवा, ४ हजार १३२ जनाले ईसीजी र ३ हजार ७१६ जनाले एक्स–रे सेवा लिएका छन् ।
अस्पतालमा करोडौँ मूल्यका अत्याधुनिक उपकरणहरू जडान गरिएका छन् । जसमा ३५ थान भेन्टिलेटर, ८३ थान आईसीयू बेड, २ वटा अक्सिजन प्लान्ट र अत्याधुनिक फोहर व्यवस्थापन केन्द्र रहेका छन् ।
उक्त अस्पताल अहिले खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको ५ बिघा ७ कट्ठा जग्गामा सञ्चालन भइरहेको छ । कोभिड महामारीका बेला स्वीकृत लिएर सञ्चालन गरिए पनि हालसम्म जग्गाको स्वामित्व वा भाडा सम्बन्धमा स्वास्थ्य मन्त्रालय र कम्पनीबीच कुनै लिखित सम्झौता हुन सकेको छैन । कम्पनीले पटक–पटक जग्गा खाली गर्न पत्राचार गरिरहेको भएपनि उक्त समस्या समाधान नभई थप सेवा विस्तार गरिएको हो ।
अस्पतालले आगामी दिनमा सुरक्षित गर्भपतन सेवा, आमा सुरक्षा कार्यक्रम, ल्याब तथा रेडियोलोजी सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने र ५० शैय्याबाट सेवा विस्तार गरी प्रदेशकै प्रमुख रेफरल सेन्टरको रूपमा विकास गर्ने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।