तेह्रथुम । तेह्रथुममा अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ परेका छन्। म्याङ्लुङ नगरपालिकाबाट आवश्यक अनुमति नलिई यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार पक्राउ पर्नेहरूमा सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरका अनुसार म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा २० देखि २५ जनाले यार्सागुम्बा सङ्कलन गरिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
डिभिजन वन कार्यालय तेह्रथुमका वन अधिकृत बद्रीप्रसाद शाहले राजस्व तिरेपछि मात्र यार्सागुम्बा सङ्कलन गर्न पाइने व्यवस्था रहेको बताए। उनका अनुसार अनुमति बिना यार्सागुम्बा सङ्कलन गरेमा प्रतिकिलो ३१ हजार रुपैयाँका दरले जरिवाना हुने तथा प्रतिवटा ३१ रुपैयाँसमेत शुल्क लाग्ने कानुनी व्यवस्था छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाले यार्सागुम्बा निर्यातबाट वार्षिक करिब तीन लाख रुपैयाँ तथा काठजन्य वन पैदावारबाट चारदेखि पाँच करोड रुपैयाँसम्म राजस्व सङ्कलन हुँदै आएको जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।