विराटनगर । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा पाँच दिन बितिसक्दा पनि प्रहरीले घटनाको वास्तविक रहस्य पत्ता लगाउन सकेको छैन। रतुवा खोलामा बोराभित्र शव फेला परेपछि सुरु गरिएको अनुसन्धान अझै निष्कर्षमा पुग्न नसक्दा प्रहरीमाथि दबाब बढेको छ।
गत जेठ १६ गते शनिबार बिहान दमकस्थित सेतुमाडी क्षेत्रमा रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा तिवारीको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट उनको हत्या गरी अन्यत्रबाट शव ल्याएर खोलामा फालिएको निष्कर्षमा प्रहरी पुगेको छ।
झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार शव भेटिएको स्थान घटनाको मुख्य स्थल नभई शव फालिएको स्थान मात्रै हो। हत्या कहाँ र कसरी भयो भन्ने तथ्य पत्ता लगाउन नसक्दा अनुसन्धान जटिल बनेको उनले बताए।
प्रहरीका अनुसार रमा गत हप्ता बुधबार राति घरबाट निस्किएकी थिइन्। परिवारका सदस्यले उनी साथीलाई भेट्न भनेर घरबाट गएको जानकारी दिएका छन्। अनुसन्धानका क्रममा प्रहरीले उनीसँग सम्पर्कमा रहेका विभिन्न व्यक्तिसँग सोधपुछ गरिरहेको छ। एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिए पनि घटनामा प्रत्यक्ष संलग्नता पुष्टि नभएपछि छाडिएको स्रोतले जनाएको छ।
अनुसन्धानबाट रमाको मोबाइलको अन्तिम लोकेसन दमक बजार क्षेत्रमा देखिएको छ। घटनाको राति करिब ११ बजेतिर मोबाइल बन्द भएको देखिएपछि त्यसपछिको गतिविधि पत्ता लगाउन प्रहरी प्राविधिक विश्लेषणमा जुटेको छ। सीसीटीभी फुटेज, डिजिटल प्रमाण र सम्भावित घटनास्थलको खोजीलाई प्राथमिकतामा राखिएको छ।
प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा एक व्यक्तिमात्रै संलग्न रहेको सम्भावना कम देखिएको छ। योजनाबद्ध रूपमा हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि त्यसलाई पुष्टि गर्ने प्रमाण अझै फेला परेको छैन।
यसैबीच, अनुसन्धान जारी रहेका बेला सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा अपुष्ट सूचना तथा अनुमानमा आधारित सामग्री सार्वजनिक हुन थालेपछि प्रहरीले चिन्ता व्यक्त गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले विज्ञप्ति जारी गर्दै आधिकारिक रूपमा पुष्टि नभएका सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार संवेदनशील घटनाका अपुष्ट विवरण बाहिरिँदा अनुसन्धान प्रभावित हुने, प्रमाण सङ्कलनमा समस्या आउने र न्याय सम्पादन प्रक्रियामै असर पर्न सक्ने जोखिम हुन्छ। त्यसैले अनुसन्धान पूरा नभएसम्म अनुमानका आधारमा निष्कर्ष ननिकाल्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
घटनाले स्थानीय समुदायमा त्रास र चासो बढाएको छ। परिवारजनले छिटो, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्रहरीले भने घटनाको प्रत्येक पक्ष सूक्ष्म रूपमा अध्ययन भइरहेको र सत्य तथ्य बाहिर ल्याउन अनुसन्धान निरन्तर जारी रहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।