लोड हुँदैछ...

मेनु

नेपालले पनि भारतको सीमा मिचेको प्रधानमन्त्रीको दाबी

नेपालले पनि भारतको सीमा मिचेको प्रधानमन्त्रीको दाबी

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले नेपालले पनि भारतको केही भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका छन्।

प्रतिनिधिसभामा आज दिएको उक्त अभिव्यक्तिले संसदभित्र राजनीतिक तरंग सिर्जना गरेको छ भने विभिन्न दलका सांसदहरूले त्यसबारे स्पष्टता माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विषयमा प्रश्न सोधेका थिए। भारत र चीनले नेपालको दाबी रहेको लिम्पियाधुरा क्षेत्र हुँदै मानसरोवर यात्रा सञ्चालन गरेको विषयमा सरकारको धारणा माग गर्दै उनले प्रश्न उठाएका थिए।

जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विवादलाई कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताए। सोही क्रममा उनले आफूले हालै मात्र नेपालले पनि भारतको केही भूमि मिचेको जानकारी पाएको दाबी गरे।

“तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,” प्रधानमन्त्री शाहले भने, “यो कुरा भर्खरै थाहा भएको हो। हामीले पनि मिचेका छौँ, उहाँहरूले पनि मिच्नुभएको छ। बसेर साथीका रूपमा समाधान गर्ने सोच राखेका छौँ।”

प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएसँगै संसदमा त्यसको प्रतिक्रिया देखिएको छ। नेपाल–भारत सीमा विवादलाई लिएर लामो समयदेखि राष्ट्रिय बहस भइरहेका बेला प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिलाई धेरै सांसदहरूले गम्भीर रूपमा लिएका छन्।

यसअघि सोही बैठकमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि लिपुलेक–लिम्पियाधुराको विषयमा सरकारको धारणा सोधेकी थिइन्। जवाफमा प्रधानमन्त्री शाहले नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफ प्राप्त भइसकेको जानकारी दिए।

उनले सीमा विवाद समाधानका लागि दुवै देशका इतिहासविद्, नापी विज्ञ तथा सम्बन्धित विषयका जानकारहरूबीच वार्ता गराउने तयारी भइरहेको बताए। साथै, भारत र चीनसँग मात्र नभई बेलायत सरकारसँग समेत संवाद भइरहेको उल्लेख गरे।

“ब्रिटिसहरूले भारत छाड्ने समयदेखि नै यो समस्या उत्पन्न भएकाले बेलायतको पनि नैतिक सरोकार छ भन्ने हाम्रो धारणा हो,” प्रधानमन्त्रीले भने। प्रधानमन्त्री शाहले सीमा विवाद संवेदनशील विषय भएकाले भावनात्मक भन्दा पनि कूटनीतिक र तथ्यमा आधारित संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। तर नेपालले भारतको कुन भूभाग मिचेको हो भन्नेबारे उनले कुनै विवरण भने सार्वजनिक गरेका छैनन्।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि उक्त विषय राजनीतिक तथा कूटनीतिक वृत्तमा समेत बहसको केन्द्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।